भिषण आगोलागीमा १२ घण्टासम्म जलिरह्यो मनसा थाई फुड्स, अर्बको क्षति, ५१ करोडको बीमा दावी जनरल इन्स्योरेन्समा पर्दै

२९ माघ २०७८, शनिबार २३:००

विराटनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर –१४ दुहागढीमा रहेको मनसा थाईफुड्समा आज विहानदेखि भिषण आगोलागी हुँदा सम्पूर्ण उद्योग जलेर नष्ट भएको छ । आज विहान ४ बजेदेखि सुरु भएको आगोलागी लगातार १२ घण्टासम्म जलिरहँदा १३ वटा दमकल प्रयोग हुँदा समेत नियन्त्रणमा लिन कठिन भएको थियो । अत्याधिक मात्रामा भण्डार गरिएको प्लाष्टिक, ठूलो मात्रामा रहेको खुर्सानीका कारण आगोलागी नियन्त्रण चुनौतिपूर्ण बनेको थियो ।

मगमग चाउचाउ, चिजबल्स उत्पादन गर्दै आएको पोदार ग्रुपको लगानी रहेको सो उद्योगको बीमा जनरल इन्स्योरेन्स कम्पनीमा गरिएको थाहा भएको छ । विगतमा शिखर इन्स्योरेन्समा बीमा गर्ने गरिएकोमा यसै वर्षमात्रै उक्त उद्योगको बीमा जनरल इन्स्योरेन्स कम्पनीले गरेको थियो । सो उद्योगले करिब २१ लाख रुपैयाँ बीमा शुल्क तिरेर ५१ करोड रुपैयाँको बीमा गरिएको प्रारम्भिक रुपमा प्राप्त जानकारीमा उल्लेख छ । उद्योगका कच्चा पदार्थहरु समेत जलेर नष्ट भएकोले थप बीमा दावी पर्नसक्ने जनाइएको छ । सो उद्योगले कूल ५१ करोड सम्पत्ति मूल्याङकन गरी बीमा गरेको प्रारम्भिक रुपमा जानकारी प्राप्त भएको छ ।

शनिबार बिहान ४ बजेदेखि उद्योगमा आगो लाग्न सुरु भएको थियो । आगोलागीको कारण खुल्न सकेको छैन । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १३ दमकलको प्रयोग गरिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बीमापोष्टलाई जानकारी दिए । उद्योगमा प्लास्टिकको मात्रा धेरै भएकोले आगो निभाउन १२ घण्टाभन्दा बढि समय लागेको थियो ।

 

भिडियो सौजन्यः यादव पोखरेल

२०७५ सालमा एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको सो उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । गोदाममा ठूलो मात्रामा खुर्सानी भण्डारण गरिएकोले आलोगालीमा परेको सो खुर्सानी जलेकोले अग्नि नियन्त्रकहरु नजिक पुगेर आलो निभाउन समस्या परेको थियो ।

उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने भएको छैन । उनका अनुसार कारखानामा रहेका तयारी सामग्री कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, र्यापर लगायतका सबै सामग्री नष्ट भएका छन् ।

२०७५ साल असोज २ गतेबाट उत्पादन सुरु गरेको सो उद्योग सञ्चालनमा आएको तीन वर्ष चार महिनापछि आगोलागीमा परेर ध्वस्त हुन पुगेको हो । दैनिक सात लाख ५० हजार प्याकेट क्षमताको मेशिन राखेर नेपाल र छिमेकी मुलुक भारतमा चाउचाउको बजार बिस्तार गर्ने लक्ष्य राखेर स्थापना गरिएको सो उद्योगले मगमग, प्यारी, रेलिमाई, गट्बट चाउचाउसहित स्न्याक्सहरूमा चिजरिङ, कुटुकुटु, पोट्याटो क्र्याकर, क्रोन फ्ल्याक्स र चोकोस रहेका छन् ।

मेचीको मनसा थाईफुड्समा आगोलागी भएसँगै जनरल इन्स्योरेन्स कम्पनीमा दौडधुप सुरु भइसकेको छ । ५१ करोडको बीमा दावी पर्ने भएकोले कम्पनीले समेत दावी बापतको निश्चित प्रतिशत व्यहोर्नुपर्ने भएकोले अण्डरराईटिङको दौडधुप सुरु भएको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*