गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष २३% ले बृद्धि, खर्च घटाउने, आम्दानी बढाउँदै लय पक्रने प्रयास

२९ माघ २०७८, शनिबार १३:०९

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये गुराँस लाइफको बीमा व्यवसाय गत वर्षदेखि नै खस्किदै थियो । तर चालु आवको दोस्रो त्रैमासमा कम्पनीले विस्तारै लय समात्ने दिशातर्फ अघि बढेको आज प्रकाशित दोस्रो त्रैमासिक वित्तिय विवरणमा देखिएको छ । कम्पनीले व्यवस्थापन खर्च घटाउने, आयआम्दानी बढाउने रणनीति अपनाएर प्रगतिको लय समात्ने प्रयास गरेको वित्तिय विवरणले देखाएको छ ।

गुराँस लाइफले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीले व्यवस्थापन खर्च घटाएर चुस्तदुरुस्त प्रशासनमार्फत जीवन बीमा व्यवसायमा अघि बढ्न चाहेको देखिएको छ । कम्पनीको व्यवस्थापन खर्च ४९.०८ प्रतिशतले घटाउन सफल भएको छ । साथै कम्पनीले लगानी, कर्जा, बीमालेख धितोमा कर्जाबाट प्राप्त आम्दानी १६.०६ प्रतिशतले बृद्धि गर्न सफल भएबाट कम्पनी दीर्घकालिन योजनाका साथ अघि बढ्ने संकेत गरेको छ ।

गुराँस लाइफले आम्दानी बृद्धि तथा खर्च कटौति गर्दा बीमा व्यवसाय घट्दा र खुद दावी भुक्तानी उल्लेख्य बृद्धि हुँदा समेत जीवन बीमा कोष २३.२१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । । कम्पनीको जीवन बीमा कोषको आकार ११ अर्ब ४८ करोड ७६ लाख ४४ हजार पुर्याउन सफल भएको छ । कम्पनीले गत आवमा जम्मा नौ अर्ब ३२ करोड रुपैयाँको कोष थियो ।

कम्पनीको जगेडा कोष तथा महाविपत्ति कोष सहित समग्र कोषको आकार १२ अर्ब पाँच करोडमाथि पुगेको छ । कम्पनीको समग्र कोषको आकार २१.९७ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी २३.८० प्रतिशतले घटेको छ । गत आवको छ महिनाको अवधीमा दुई अर्ब ११ करोड चार लाख २४ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको छ महिनामा एक अर्ब ६० करोड ८२ लाख १७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको दावी भुक्तानी १९१ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ३० करोड छ लाख ३० हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले चालु आवको छ महिनामा ८७ करोड ७३ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेकोछ । नेतृत्व परिवर्तनसँगै कम्पनीबाट सरेन्डर गर्नेहरु बृद्धि भएको यो तथ्याङ्ले पुष्टि गरेकोछ ।

कम्पनीको चुस्तदुरुस्त व्यवस्थापनका कारण लगानी, कर्जा तथा अन्यबाट प्राप्त आय १६.०६ प्रतिशतले बृद्धि भई ६१ करोड ३५ लाख ४३ हजार पुगेको छ । गत आवको छ महिनामा यस्तो आय ५२ करोड ८६ लाख ६२ हजार रुपैयाँ थियो । कम्पनीको आम्दानीमात्रै बृद्धि भएको छैन । व्यवस्थापन खर्च समेत ४९.०८ प्रतिशतले घटेको छ । गत आवमा २८ करोड ७६ लाख व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवमा १४ करोड ६४ लाख मात्रै व्यवस्थापन खर्च गरेको छ ।

कम्पनीले वितरण गर्ने अभिकर्ता कमिशन ४१.१७ प्रतिशतले घटेको छ । गत आवमा ३३ करोड २६ लाख २९ हजार रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गर्ने कम्पनीले चालुआवको छ महिनाको अवधीमा १९ करोड ५६ लाख ९९ हजार रुपैयाँ वितरण गरेको छ ।

कम्पनीको खुद नाफा ६.१८ प्रतिशते घटेको छ । गत आवमा आठ करोड ४१ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको छ महिनामा सात करोड ८९ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीमा हालसम्म कायम बीमा पोलिसी संख्या एक लाख ५८ हजार १६१ वटा रहेको छ । गत आवको तुलनामा २.५३ प्रतिशत बीमा पोलिसी संख्या घटेको पाइएको छ ।

समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी ७.५७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२७.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८४.७५ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ७०२.१३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*