बीमा समितिको माईन्यूटमा नोट अफ डिसेन्ट लेख्ने आन्तरिक राजश्व विभागका प्रमुख पौडेलको सरुवा

२८ माघ २०७८, शुक्रबार २१:३१

काठमाडौं । बीमा समितिको इतिहासमा पहिलो पटक नोट अफ डिसेन्ट लेखेर बीमा समितिका अध्यक्षको गलत काम रोक्न भूमिका खेलेका बीमा समितिका सञ्चालक तथा आन्तरिक राजश्व विभागका प्रमुख सह सचिव शोभाकान्त पौडेललाई मन्त्रालयले सरुवा गरेको छ । संघीय मामिला मन्त्रालयले आज पौडेललाई काजमा गृहमन्त्रालयमा खटाएको सूचना प्रकाशित गरेको छ ।

राजश्व विभागमा रहँदा मदिराको नक्कली स्टीकर पक्राउ गरेर ठूलो भ्रष्टचारीलाई नियन्त्रणमा लिएको तथा राजश्व लक्ष्य लगभग (९३.३६ प्रतिशत) पुर्यााउन सफल भएका सह–सचिव पौडैललाई अर्थ मन्त्रालयले सरुवा गरेको हो ।

पौडेल बीमा समितिको सञ्चालक समेत हुन् । लामो समयसम्म माईन्यूट कीर्ते गर्ने बीमा समितिमा सञ्चालक बन्न नजाने अडान लिएका पौडेललाई अन्त्यमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले बीमा समितिको सञ्चालक भई बैठकमा सहभागी हुन निर्देशन दिएका थिए । उनी गएको दोस्रो बैठकमा अध्यक्ष सिलवालले एक विवादास्पद प्रस्ताव अघि सारेपछि सञ्चालक पौडेलले नोट अफ डिसेन्ट लेखि दिएका थिए ।

उसो त अर्थमन्त्रालयभित्र सबैभन्दा राम्रो र नतिजामुखी काम गरेका भन्सार विभागका प्रमुख नारायण सापकोटाको समेत सरुवा गरेको छ । उज्यालोका नायक अर्थमन्त्री बनेर जनतालाई समान वितरण गर्ने अभियानमा रहँदै नयाँ नायक बन्ने योजनामा सघाउ पुग्ने प्रतिबद्ध भन्सार प्रमुख सापकोटाको सरुवा गरिएको हो । सापकोटालाई गृहमन्त्रालय अन्तर्गत पश्चिमतिर सरुवा गरिएको स्रोतको दावी छ । विमानस्थलमार्फत भित्रिरहेको अबैध सुनलाई नियन्त्रणमा लिई दैनिक २० किलोसम्म सुन पक्राउ गरेर चर्चामा आएका सह सचिव सापकोटालाई अर्थमन्त्रालयले सरुवा गरेपछि आगामी दिनमा अर्थमन्त्रालयमा माफियालाई चलाउन झनै सहज वातावरण सिर्जना गरिएको छ ।

अर्थमन्त्रालयमा मन्त्री जनार्दन शर्माको चेन अफ कमाण्डलाई सचिव मधु कुमार मरासिनीले ब्रेक गरेका कारण उज्यालोका नायक जनार्दन शर्मा दिनानु दिन असफल बन्दै गइरहेका छन् । प्रधानमन्त्री पत्नी आरजुु राणाको लागि काम गर्दै आएका सचिव मधु मरासिनीको योजनामा दुई प्रभावशाली कर्मचारीहरुको सरुवा गरिएको चर्चा अर्थमन्त्रालयभित्र व्यापक छ ।

सचिव मरासिनीले आफूलाई प्रचण्ड निकट भन्दै आरजुसँगको सेटिङमा अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन मरासिनीले काम गरिरहेको स्रोतको दावी छ । राम्रो काम गर्नेहरुलाई सरुवा गरेर अन्यत्र पठाउने र विवादित काममा मन्त्रीलाई अल्झाएर अर्थमन्त्रालयबाट बद्नाम गराउन मरासिनी सक्रिय भइरहेको पछिल्लो गतिविधिले देखाएको छ । स्याङ्जाका मरासिनी खासमा कांग्रेस नेता गोपालमान श्रेष्ठका खास मान्छे हुन् । पछिल्लो समय उनले प्रचण्डसम्म पुग्ने च्यानल बनाएर अर्थमन्त्रालयमा सरुवा भएका थिए । अहिले उनले प्रचण्डको नाममा लिँदै आरजुको लागि काम गर्ने गरेको दावी छ । केही समय अघि आरजु राणा भारत भ्रमणमा जाँदा सचिव मरासिनीले राम्रै सेटिङ गरेर व्यापारीहरुलाई भारत पठाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*