प्रिमियर इन्स्योरेन्सले गर्यो प्रगति, बीमा शुल्क र मुनाफा दुवै बढ्यो

२८ माघ २०७८, शुक्रबार १३:२५

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्नो बीमा ब्यवसायलाई उत्कृष्ट सुधार गर्दै लगिरहेको छ ।

कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको पुष मसान्तसम्ममा कुल बीमा शुल्क आम्दानी २३ प्रतिशतले बढाएर १ अर्ब १० करोड ६१ लाख रुपैयाँ पुर्याएको छ । गत आवको यसै अवधिसम्ममा प्रिमियर इन्स्योरेन्सले ८९ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

साथै कुल बीमा शुल्क सँगै कम्पनीको यस अवधिमा खुद बीमा शुल्क समेत २१.९२ प्रतिशतले बढ्न पुगेको छ । गत आवको पुष मसान्तसम्ममा ३७ करोड ८१ लाख रुपैयाँ रहेको कम्पनीको खुद बीमा शुल्क यस अवधिसम्ममा बढेर ४६ करोड ९ लाख रुपैयाँ पुगेको छ ।

कुल बीमा शुल्क र खुद बीमा शुल्कको आकार बढ्न पुग्दा समिक्षा अवधिसम्ममा कम्पनीको नाफा २२.४३ प्रतिशतले बढेर १५ करोड ६७ लाख रुपैयाँ माथि पुगेको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीको खुद नाफा १२ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

बीमा शुल्कहरुमा उत्कृष्ट सुधार गर्दै कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा कोषहरुको आकार समेत बढाएको छ । बीमा कोषको आकार २०.७६ प्रतिशतले बढाएर ९१ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषको आकार ६२.१५ प्रतिशतले बढाएर ४६ करोड ६५ लाख रुपैयाँ संचिती रहेको छ । साथै कम्पनीको महाविपत्तीको कोषको आकार यस अवधिसम्ममा भने २९.९५ प्रतिशतले घटेर ५ करोड ५ लाखमा सीमित हुन पुगेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको लगानी, कर्जा अन्यबाट प्राप्त आय ४३ प्रतिशतले घटेर ११ करोड २१ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । साथै व्यवस्थापन खर्च समेत९.२९ प्रतिशतले बढेर १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । आयमा गिरावट र व्यवस्थापन खर्चमा बृद्धि भएसँगै कम्पनीले महाविपत्ती कोषको आकार बढाउन नसकेको हो ।

प्रिमियर इन्स्योरेन्सको चालु आवको पुष मसान्तसम्ममा खुद दावी भुक्तानी १७ प्रतिशतले बढेर १८ करोड ८३ लाख रुपैयाँ पगेको छ । त्यस्तै जारी बीमा पोलिसी संख्या १.८३ प्रतिशतले बढेर ८४ हजार १४२ पुगेको छ ।

यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड रुपैयाँ रहेकोमा कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी २८.९७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २३३.४३ रुपैयाँ, तरलता अनुपात २.२२% र मूल्य आम्दानी अनुपात ३९.७३ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*