तीन देशमा श्रम काउन्सिलर र सहचारी छनोटका लागि निवेदन आह्वान
काठमाडौं । सरकारले चार श्रम गन्तव्य मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारीको छनोटका लागि निवेदन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले हिजो एक सूचना प्रकाशित गरी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र बरहाइनका लागि काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान गरेको हो ।
मन्त्रालयले युएई र साउदीका लागि एकएक जना श्रम काउन्सेलर तथा कतार र बहराइनका लागि एकएक जना श्रम सहचारीका लागि आह्वान गरेको छ । काउन्सेलर राजपत्राङ्कित द्वितीय श्रेणी र श्रम सहचारी राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी छनोट गर्ने गरिएको छ ।
काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ ले तोकेको योग्यता पुगेका कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । इच्छुक कर्मचारीले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन सक्नेछन् ।