ज्योति लाइफ इन्स्योरेन्सका सिईओ खत्रीको शैक्षिक योग्यताबारे अख्तियारमा उजुरी, समितिलाई छानविन गर्न निर्देशन

२० माघ २०७८, बिहीबार १८:२५

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीको शैक्षिक योग्यता प्रमाणपत्र नेपालमा अयोग्य रहेकोले कारवाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बीमा समिति स्रोतका अनुसार भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका खत्री बाहेक अन्य दुई बीमा कम्पनीमा कार्यरत व्यक्तीहरुको शैक्षिक योग्यता प्रमाणपत्र नक्कली भन्दै उजुरी परेकोले छानविन गर्न माग गरिएको छ ।

आयोगको निर्देशनपछि बीमा समितिले ज्योति लाइफका प्रकाशविक्रम खत्री मात्रै नभई सबै बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्रको विवरण ७ दिनभित्रमा बुझाउन निर्देशन दिएको छ । स्रोतका अनुसार ज्योति लाइफका सिईओ खत्रीको शैक्षिक योग्यता प्रमाणपत्र नक्कली भन्दै अख्तियारमा उजुरी परेको भएपनि उनको सर्टिफिकेट नक्कली भने होईन । बीमापोष्टसँग डिजिटल संवाद गर्दै सिईओ खत्रीले कम्प्युटर साईन्समा स्नातक उत्तिर्ण गरेको तथा कम्प्युटर सिष्टममा स्नातकोत्तर गरेको बताए । उनले उल्लेखित दुई तहको शैक्षिक योग्यता रहेको जानकारी दिए ।

सिईओ खत्रीले यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा पहिलो पटक सिईओ हुँदा लण्डनको बारक्लेज बैंकमा काम गरेको अनुभवको प्रमाणपत्र पेश गरेर सिईओ बनेका थिए । सो विवाद पछि बीमा समितिमा पुगेपछि अनुसन्धान हुँदा उनको बारक्लेज बैंकमा काम गरेको नभई इन्टर्न मात्रै गरेको पुष्टि भएको थियो । बीमा समितिले कार्य अनुभवका अधारमा नेपालमै एक कार्यकाल सिईओ भइसकेकोले ज्योति लाइफ इन्स्योरेन्समा दोस्रो कार्यकालको लागि अनुमति दिएको थियो ।

बीमा समितिले आज जारी गरेको निर्देशन अनुसार विदेशी विश्व विद्यालयमा अध्ययन गरेकाहरुले ७ दिनभित्रमा समकक्षता प्रमाणपत्र समेत पेश गर्नुपर्ने भएकोले नेपालका बीमा कम्पनीमा कार्यरत धेरै कर्मचारीहरुको पद धरापमा परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*