पूजापाठ गरी मनाइयो सोनाम ल्होसार, गाई वर्ष सकियो अब बाघ वर्ष सुरु

१९ माघ २०७८, बुधबार २२:४२

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज चैत्य एवं गुठीमा पूजा आराधना गरी मनाइएको छ । राजधानीमा विशेषगरी बौद्ध र स्वयम्भू क्षेत्रमा सोनाम ल्होसार मनाउने गरिन्छ । बौद्ध क्षेत्रका गुठी एवं चैत्यमा पूजा पाठ गरिए पनि औपचारिक कार्यक्रम भने गरिएन । बौद्ध महाचैत्यमा घुम्ने श्रद्धालुको भने भीड देखिएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले जानकारी दिए ।

कोरोना महामारी नहुँदा बौद्ध क्षेत्रमा शान्ति पदयात्रासहित सांस्कृतिक कार्यक्रम गरेर सोनाम ल्होसार मनाउने गरिन्थ्यो । स्वयम्भू क्षेत्रमा पनि विगत वर्षमा जस्तो औपचारिक कार्यक्रम एवं शान्ति पदयात्रा गरिएन । यहाँका चैत्य, गुम्बा र गुठीमा भने पूजा आराधना गरिएको स्थानीय रत्नसागर लामाले जानकारी दिए ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश भएको जनाइएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ जातिको बाहुल्य रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ ।

यस वर्ष सोनाम ल्होसारमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*