तीन वर्षको ठेक्का सम्झौतामा आठ वर्ष बितिसक्दा पनि बनेन डोटीको मोटरेबल पुल

दिपक विष्ट
१९ माघ २०७८, बुधबार १५:१३

काठमाडौं । डोटी जिल्लामा अवस्थित मोटरेबल पुल तीन वर्षभित्र पुरा हुनुपर्ने सम्झौता भएकोमा अझैसम्म पनि पुरा हुन सकेको छैन ।
शिखर नगरपालिका १० स्थित दुई गाउँपालिका सहित छिमेकी जिल्ला बझाङ जोड्ने उद्देश्यले निर्माण भइरहेको मोटरेबल पुलको शिलान्यास भएको आठ वर्ष बितिसक्दा समेत पूरा हुन नसकेको हो ।

मूल्य अभिवृद्धि कर सहित २६ करोड २० लाख रुपैयाँको लागतमा निर्माण हुने करिब ४०० मिटर लम्बाइको उक्त पुल डिभिजन सडक कार्यालय कुलपाते दिपायलले डडेल्धुराको पुष्प राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी काम अगाडि बढाएको थियो ।

मोटरेबल पुल निर्माणका लागि विस २०७१ सालमा विस २०७४ असार २९ गते भित्र निर्माण सम्पन्न हुने गरी सम्झौता भएको थियो । तीन वर्ष पहिला ठेक्का सम्झौता अवधि सकिएर चार वर्ष म्याद समेत थप भइसक्दा २० प्रतिशत काम पनि सम्पन्न हुन सकेको छैन ।

हालको सम्झौता अनुसार ठेक्का अन्तिम म्याद २०७८ चैत मसान्तसम्म रहेको छ भने ३ करोड २१ लाख रकम भूक्तानी समेत लिइसकेको छ । सेती नदिमा बन्ने भनिएको मोटरेबल पुल ८ वर्ष पुग्दा समेत बन्न नसक्दा शिखर नगरपालिका ११ र आर्दश गाउँपालिकाका स्थानिय सडक सञ्चालसँग जोडिन पाएका छैनन् । नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडक समेत अलपत्र छ ।

साथै, सो स्थानमा गुणस्तरिय अस्पताल नहुदाँ बिरामी हुदाँ समेत २–३ घण्टामा बाटो हिडेर सडक सञ्चालसम्म आउनु पर्ने बाध्यता रहेको शिखर नगरपालिका ११ मल्लीसातका स्थानिय गणेश रावलले बताए । उनले भने, ‘सडक सञ्चालसँगै गुणस्तरिय अस्पताल समेत नहुँदा गाउँमा कोही बिरामी भए, लामो बाटो बोकेर लैजानु पर्ने र कतिको बाटैैमा मृत्यु हुने गरेको छ’ ।

निर्माण कम्पनीले भने करिब ३ वर्ष यतादेखि पिल्लरको फाउण्डेसनमा रक भेटिएको बोर पाईलिङ मेसिन ल्याउने पर्ने भन्दै कार्य आलटाल गर्ने खोजी रहेको छ । निर्माण कम्पनी पुष्प राजेन्द्र जेभीका इन्जिनियर राजेन्द्र साउँदले ३ वर्ष अगाडि २०७६ को असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने बाचा गरे पनि आज सम्म २० प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीले पुलको बाहानामा गिट्टी ढुङगा बालुवा अन्तै सप्लाई भइरहेको गुनासो स्थानियले गरेका छन् । यो पुल प्रत्येक वर्ष चुनावका बेला राजनीति मुद्धा मात्रै बन्ने गरेको छ ।

सुदुपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्थगत अनुगमन गरी समय मै काम गर्ने निर्देशन दिए पनि कामले फड्को मार्न सकेको छैन । निर्माण कम्पनीका संचालक भिमबहादुर साउँद डडेल्धुरा जिल्लाको पशुराम नगरपालिकाका नगर प्रमुख र नेपाली कांग्रेस डडेल्धुराका सभापति समेत हुन् । निर्माता कम्पनीले राजनीतिक आडमा प्राकृतिक स्रोत साधनका फाईदा लिईरहेको स्थानियको आरोप छ ।

 

 

One thought on “तीन वर्षको ठेक्का सम्झौतामा आठ वर्ष बितिसक्दा पनि बनेन डोटीको मोटरेबल पुल

  1. Ramesh says:

    ❤❤❤

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*