माधव मरासिनीको संयोजकत्वमा नन् रेसिडेन्ट नेपाल एशोसिएशनको नयाँ तदर्थ समिति गठन, एकवर्षभित्र नयाँ निर्वाचन गराउने प्रतिबद्धता

१२ माघ २०७८, बुधबार २२:४३

काठमाडौं । एनआरएनएको पछिल्लो गतिविधिहरु गैर आवासिय नेपालीहरुको हितमा नभएको भन्दै अमेरिकाबाट समानान्तर गैर आवासिय नेपाली संघ गठनको सुरुवात गरिएको छ । अमेरिकाको क्यालिफोनिर्या बस्दै आएका गैर आवासिय नेपाली माधव मरासिनीले आफ्नो संयोजकत्वमा अन्तर्राष्ट्रिय तदर्थ समिति गठन गर्दै नन रेसिडेन्ट नेपाली एशोसिएशन स्थापना गरेका छन् । अर्थात एनआरएनए अब औपचारिक रुपमा विभाजनतर्फ उन्मुख भएको छ ।

संयोजक माधव मरासिनीले आज न्यूयोर्कबाट डिजिटल पत्रकार सम्मेलनमार्फत नयाँ संस्थाको विधान ड्राफ्ट अन्तिम चरणमा पुगेको जनाउँदै अमेरिकामा ट्रेडमार्क दर्ता प्रक्रिया समेत अघि बढेको जानकारी दिएका छन् ।

उनले भने, ‘गैर आवासिय नेपालीहरुको लागि खोलिएका संस्थाहरु व्यक्तिगत कमाईखाने भाँडो तथा राजनीतिक स्वार्थ पूरा गर्ने थलो र धनीहरुको क्लवजस्तै भएको छ । हामीहरुले यस विषयमा नेतृत्वलाई पटक पटक सुधार गर्न सचेत गराउँदा नेतृत्व तहले वेवास्ता गर्ने तथा झनै गुटबन्दी गर्ने कम गर्दै आएको छ ।’

उनले एनआरएनएलाई गैर आवासिय नेपालीहरुको साझा फोरम बनाउन माग गर्दा सामाजिक सञ्जालमा ब्लक गर्ने, निषेध गर्ने काम गरिएको भन्दै गैर आवासिय नेपालीहरुको हितका लागि नयाँ संस्थाको आवश्यकता परेको औल्याएका छन् ।

निष्पक्ष रुपमा चुनाव गर्न नसकेर राजनीतिक भागबण्डाबाट नेतृत्व चयन गर्ने एनआरएनएको वर्तमान प्रयासले गैर आवासिय नेपालीहरुमा निराशा पैदा भएको उल्लेख गरेका छन् । उनले एनआरएनएमा आएको गम्भिर विचलनबाट जोगाउन विश्वभरका गैर आवासिय नेपालीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । संयोजक मरासिनीले भने, ‘खराव चरित्रका विरुद्धमा विद्रोह गर्नु र नयाँ यात्रा गर्नु अपरिहार्य हुन आएकोले नन रेसिडेन्ट नेपाली एशोसिएशनको स्थापना गरे अघि बढ्ने निर्णय गरेका हौं ।’

नयाँ संस्थालाई जात, धर्म, भाषा, राजनीतिका आधारमा अगल राख्ने प्रतिबद्धता सहित संयोजक मरासिनीले एक वर्षमा निष्पक्ष निर्वाचन गरी, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय समितिहरु निर्वाचन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो समुहले छुट्टै वेभसाईट नै सञ्चालनमा ल्याएको छ । यद्यपि नाम भने एनआरएनसँग मिल्नै एउटै रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*