सेञ्चुरी कमर्सियल बैंकले खुद मुनाफा ५४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ?
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले ७२ करोड २१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा ५४.७७ प्रतिशतले बढाउन सफल भएको हो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४५ करोड २६ लाख रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा ६९.११ प्रतिशतले बढेर १ अर्ब ७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ६३ करोड ४४ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २९ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १८.२५ प्रतिशतले बढेर १ अर्ब ५६ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।
बैंकले यो अवधिसम्म ९२ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म पनि बैंकले ९३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
समीक्षा अवधिमा बैंकले खराब कर्जा दर (एनपीएल) घटेर १.३१ प्रतिशतमा सीमित बनाउन सफल भएको छ। गत वर्ष यही अवधिमा एनपीएल १.६७ प्रतिशत रहेको थियो। सीडी रेसियो ८९.४३ प्रतिशत रहेको बैंकको आधार दर ८.८२ प्रतिशत रहेको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.१२ रुपैयाँ पुगेको छ।