पाँच महिनामा कुल वस्तु निर्यात १०५ र आयात ५९ प्रतिशतले बढ्यो

२९ पुष २०७८, बिहीबार १६:५२

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भई रु.१०२ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १३८.०प्रतिशत र २८.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई रु.८३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई रु.७३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*