कुन बैंकका सिइओले एक बर्षमा कति लिए तलब सुविधा? एभरेष्ट र प्रभु बैंक सबैभन्दा अगाडि, सरकारी बैंकको कम

रिना खत्री
२७ पुष २०७८, मंगलवार १८:३६

काठमाडौं । बैंकिङ क्षेत्रको रोजगारी सबैभन्दा आकर्षक रोजगारीका रुपमा मानिन्छ ।यो क्षेत्र आकर्षक भएकैले रोजगारीका लागि निकै प्रतिस्पर्धा समेत हुने गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने माथिललो देखि तल्लो तहका कर्मचारीको तलब सुविधा निकै आकर्षक रहेको हुन्छ ।

त्यसैले बैंकिङ क्षेत्रमा जागिर खान हर कोही लालायित हुन्छन् । अझ बैंकका प्रमुख कार्यकारी अधिकृत सिईओ को तलब सुविधा त झनै आकर्षक रहेको छ ।
निजी क्षेत्रका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढि तलब एभरेष्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृतले बुझेका छन्। बैंकका सीईआ गजेन्द्रकुमार नेगीले गत आर्थिक वर्षमा ३ करोड ७० लाख ३१ हजार रुपैयाँ बुझेका छन्। एभरेष्ट बैंकमा भारतीय बैंक पञ्जाव नेशनल बैंकको लगानी छ। हाल बैंकमा नेपाली नागरिक सुदेश खालिङ सीइओ छन् ।

सबैभन्दा कम तलब सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकको रहेको छ । उनले बार्षिक रुपमा तलब भत्ता वापत वार्षिक ४१ लाख रुपियाँ पारिश्रमिक पाउने गरेका छन् । निजि स्तरको तुलनामा सरकारी बैंकको कम तलब भत्ता रहेको छ।

कृषि विकास बैंक

कृषि विकास बैंक बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले मासिक २ लाख ५० हजार तलब र ५० हजार भत्ता लिने गरेका छन् ।उनले बैंक दिवस वापत सञ्चालक समितिको निर्णयानुसार उपलब्ध गराइने, औषधि उपचार खर्च वापत ५० दिनको तलब, मासिक टेलिफोन महशुल, एकपटक १ थान मोबाइल सेट अधिकतम रु. ५०,०००।– सम्मको (फिर्ता गर्न नपर्ने) समेत पाउने गरेका छन भने संचयकोषमा १ महिनाको तलब समेत थप पाउने वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नेपाल बैंक

नेपाल बैंकका सिइओ कृष्णबहादुर कार्कीले गत वर्ष बैंकबाट ५४ लाख ४२ हजार ९ सय १६ रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई बैंकले १ करोड ३१ लाख ९० हजार रुपैयाँ भुक्तानी गरेको छ । पोखरेलले तलब भक्ता बापत् ८४ लाख, भत्ता ३० लाख, दशै भत्ता ९ लाख ९० हजार र सञ्चय कोषमा योगदान बापत ८ लाख ४ हजार गरी सो रकम बुझेका हुन् तर कर कट्टिबापत् ६५ लाख ३३ हजार १ सय ७३ रुपियाँ राजस्व बुझाउँदा पोखरेलले ६६ लाख ५६ हजार ८ सय २७ रुपियाँ मात्रै खुद पारिश्रमिक बुझ्न पाएका छन् ।

कुमारी बैंक

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले एक वर्षमा २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ पारिश्रमिक लिएका छन् । बैंकका सिइओ सुरेन्द्र भण्डारीले असार ३१ देखी लागू हुनेगरी राजीनामा दिइसक्नु भएको छ । अहिले बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिना छन् ।

माछापुच्छे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई गत आर्थिक वर्षमा १ करोड २८ लाख रुपैयाँ तलब दिएको छ ।
बैंकको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा बैंकले सीइओ कोइरालालाई १ करोड २८ लाख ६१ हजार तलब भत्ता दिएको हो ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले गत आवव २०७७।७८ मा १ करोड ४१ लाख रुपैयाँ बुझेका छन् । यसबाहेक वार्षिक तथा विरामी बिदा, बोनस, उपदायन, सञ्चय कोष र औपधी उपचार अतिरिक्त पाउने बैंकले जनाएको छ । सीइओ ढुंगानाको तलब तीन वर्षयता समान छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

बैंकका सीइओ ज्योति प्रकाश पाण्डेले जम्मा ३ करोड ६ लाख ३४ हजार पारिश्रमिक बुझ्ने गरेका छन्। उनले वार्षिक तलब स्वरुप १ करोड ६० लाख ७६ हजार रुपैयाँ बुझेका छन् भने भत्ताबापत् १ करोड ७ लाख १७ हजार रुपैयाँ बुझेका छन् । त्यसैगरी दशैभत्ताबापत् २२ लाख ३३ हजार रुपैयाँ र सञ्चय कोष स्वरुप १६ लाख ८ हजार रुपैयाँ काटेको छ । त्यस्तै १ करोड २७ लाख ७५ हजार १ सय ८२ रुपियाँ बोनसबापत प्राप्त गरेका छन् ।

एनएमबी बैंक

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकबाट गत आवमा झन्डै २ पौने २ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् । बैंकले उनलाई तलबबापत् ६९ लाख ३६ हजार रुपैयाँ तलब, सञ्चय कोष बापत् ६ लाख ९३ हजार ६ सय रुपैयाँ भुक्तानी दिएका छन् ।

सानिमा बैंकसानिमा बैंकले प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललाई गत आर्थिक वर्ष २०७७।७८ मा बैंकबाट १ करोड ८४ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको छ । यसमा तलब भत्ता र अन्य सुविधाहरु समेत रहेको छ । यो बैंंकले वितरण गर्ने बोनस बाहेकको रकम हो । बैंकले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक १३ हजार र सञ्चालकलाई प्रति बैठक १२ हजार भत्ता दिने गर्दछ भने मासिक रुपमा पत्रपत्रिका, टेलिफोन, इन्टरनेट खर्च स्वरुप मासिक १२ हजार उपलब्ध गराउँछ ।

बैंक अफ काठमाडौं

बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शोभनदेव पन्तले बैंकबाट गत आर्थिक वर्ष बैंकबाट २ करोड ५६ लाख २७ हजार ९ सय ९४ रुपैयाँ लिएका छन् । यो बैंकको नियम बमोजिम प्रदान गरिने सुविधाहरु (जस्तैः सञ्चयकोष, औषधोपचार, सवारी साधन सुविधा, मोवाईल फोनको भुक्तानी सुविधासहितको रकम हो । हाल बैंकका प्रमुख कार्यकारी अधिकृतमा भने श्रवणलाल मास्के छन् ।

सेञ्चुरी कमर्सियल बैक

सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा एक करोड ५७ लाख १८ हजार ५०० रुपैयाँ तलब सुविधा भुक्तानी गरेको छ। यो सुविधा प्रमुख कार्यकारीका रुपमा तुलसीप्रसाद गौतमले बुझेका हुन्। उनी गत असार २० गते राजीनामा गरेर बाहिरिएका छन्। हाल बैंकको कामु सिइओमा मनोज न्यौपाने कार्यरत छन् । वार्षिक प्रतिवेदन अनुसार उनले तलब भत्ता एक करोड २६ लाख, दसैं भत्ता १० लाख ५० हजार, सञ्चय कोष सुविधा ७ लाख ५६ हजार र अन्य भत्ता भनेर १३ लाख १२ हजार ५ सय रुपैयाँ बुझेका छन्।

सिभिल बैंक

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सीइओ) गोविन्द गुरुङलाई १ करोड १४ लाख ९१ हजार ८७८ रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले तलब स्वरुप ५४ लाख १९ हजार ९७ रुपैयाँ, भत्ता बापत ३० लाख ८७ हजार ४६१ रुपैयाँ, दशैं खर्च भनेर ७ लाख ६७ हजार, सञ्चय कोषमा ५ लाख ४१ हजार ९१० रुपैयाँ र बोनस बापत १७ लाख ७६ हजार ४१० रुपैयाँ दिएको छ । हाल बैंकको सीइओमा सुनिल कुमार पोखरेल रहेका छन् । उनलाई असार १८ देखि लागु हुने गरेर सीइओमा नियुक्त गरिएको थियो ।

एभरेष्ट बैंक
बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार एभरेष्ट बैंकका सीईआ गजेन्द्रकुमार नेगीले गत आर्थिक वर्षमा ३ करोड ७० लाख ३१ हजार रुपैयाँ बुझेका छन्। एभरेष्ट बैंकमा भारतीय बैंक पञ्जाव नेशनल बैंकको लगानी छ। हाल बैंकमा नेपाली नागरिक सुदेश खालिङ सीइओ छन् । उनी भन्दा अगाडि भारतीय नागरिकलाई नै सीइओ बनाएर पठाइन्थ्यो ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकबाट आईएमई बैंक १ करोड ३९ लाख ७८ हजार २ सय रुपैयाँ पारिश्रमिक बुझेका छन् । उनले तलबबापत ७३ लाख ३२ हजार, भत्तास्वरुप ४८ लाख ६० हजार, सञ्चय कोषमा ७ लाख ३३ हजार २ सय र दशै भत्ताबापत १० लाख ५३ हजार बुझेका हुन ।

हिमालयन बैंक

हिमालयन बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा २ करोड १४ लाख ८९ हजार ६९७ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा छन्।
वार्षिक प्रतिवेदन अनुसार, तलब एक करोड ६ लाख, भत्ता ९५ लाख ४८ हजार, विविध सुविधा ९ लाख २० हजार र टेलिफोन खर्चबापत ४ लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको छ।

लक्ष्मी बैंक
लक्ष्मी बैकले सीइओ अजयबिक्रम शाहलाई एक वर्षमा १ करोड १५ लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यसैगरी प्रमुख कार्यकारीलाई अन्य सुविधा अन्तर्गत २९ लाख ५६ हजार रुपियाँ भुक्तानी गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृतबाहेकका पदाधिकारीहरुलाई ६ करोड ७२ लाख ९२ रुपैयाँ तलब भत्ता भुक्तानी गरिएको छ भने अन्य सुविधा अन्तर्गत सीइओ बाहेकका पदाधिकारीहरुलाई १ करोड ३९ लाख ३५ हजार रुपैयाँ भुक्तानी दिएका छन् । अन्य सुविधामा गत वर्षका नाफाबाट दिइएको बोनस पर्दछ ।

मेगा बैंक
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेलीले गत आर्थिक वर्ष एक करोड १० लाख रुपैया ५० हजार तलब बुझेकी छिन्। बैंकले उनलाई तलबका अलावा गाडी, इन्धन र मोबाइल बीलको भपाई दिनुका साथै बैंकले प्रदान गर्ने बोनस रकम समेत नियमानुसार भुक्तानी गर्नेछ । बैंकले प्रबन्धक–उच्च ब्यवस्थापनलाई गत बर्ष तलब बापत ४ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेको छ।

नबिल बैंक
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले एक बर्षमा २ करोड ४५ लाख २ हजार रुपैया पाएका छन् । बैंकको अहिले १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी छ। यही पुँजीको ३८ प्रतिशत हुने गरी गत बर्षको नाफाबाट लाभांश घोषणा गरेको हो।

नेपाल क्रेडिट एन्ड कमर्स बैंक
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक करोड ५२ लाख ३७ हजार रुपैयाँ तलब भत्ता दिएको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल छन्। बैंकको बार्षिक प्रतिवेदन अनुसार, गत आर्थिक बर्ष कुल ब्यवस्थापन खर्च २ अर्ब २४ करोड रुपैयाँ गरेको छ।

नेपाल एसबीआई बैंक

यस बैंकका सीइओ दीपककुमार डीलाई पारिश्रमिक १ करोड ७४ लाख ९१ हजार १ सय ५३ रुपैयाँ पारिश्रमिक दिइएको छ । यो रकम टीएसए अन्तर्गत एसबीआई भारतले व्यहोर्ने गरेको छ ।

प्रभु बैंक
प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गत आर्थिक वर्ष ३ करोड ५३ लाख ९५ हजार रुपैयाँ तलब भत्ता दिएको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन छन्। उनले तलब बापत २ करोड ७४ लाख रुपैयाँ बुझेका छन्। नाफाबाट कर्मचारी बोनसबापत ४१ लाख ६५ हरा रुपैयाँ बुझेका छन् भने दसैं तथा बिदा बापतको भत्ता ३७ लाख ३६ हजार रुपैयाँ पाएका छन्।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बैंकबाट २ करोड ६ लाख रुपैयाँ बुझेका छन् । यसमा नाफाबाट पाउने बोनस जोडिएको छैन। बोनस जोड्दा यो अझ धेरै हुन्छ। मानन्धरले तलब मात्र एक करोड ८० हजार रुपैयाँ बुझेका छन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्भान घोष दस्तिदारले गत वर्ष दुई करोड ७६ लाख २२ हजार रुपैयाँ तलब सुविधा लिएका छन् । पोहोर बैंकले २ करोड ८७ लाख ५५ हजार रुपैयाँ पारिश्रमिक तथा भत्ता भुक्तानी गरेको थियो।

सनराइज बैंक
सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतलाई २ करोड २९ लाख ५५ हजार रुपैयाँ तलब भत्ता तथा नाफाबाट बोनस दिएको छ। अहिले बैंकको प्रमुख कार्यकारीमा सुमन शर्मा छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*