जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन अनुमति दिन इप्पानको माग, तत्काल सम्बोधन नभए आन्दोलनको चेतावनी

२६ पुष २०७८, सोमबार १२:३३

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान ) को संंयोजकत्वमा आइपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले नेपाल धितोपत्र बोर्डका पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका छन् ।

आइपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुको सम्बन्धमा बोर्डले ले लामो समय भइसक्दा समेत कुनै सुनुवाई नगरेपछि इप्पानले  बोर्डका पदाधिकारीसँग भेट गरी यस्तो माग गरेको हो ।

जलबिद्युत कम्पनीहरुको आइपीओेको सम्बन्धमा बोर्डको निर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीर रुपमा प्रभाबित भएका छन् । आइपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको छ । निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको छ । आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको छ ।

आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अबौं रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु प्नि गम्भीर रुपले प्रभाबित हुने कुरातर्फ इप्पानले धितोपत्र बोर्डका पदाधिकारीहरुको ध्यानाकर्षण गराउँदा बोर्डका का प्रवक्ताले जलविद्युत आयोजनाको आइपीओ निष्कासन सम्बन्धि फाइलहरु बोर्डबाट स्वीकृतिका लागि अगाडी बढाईसकेको र सोको बारेमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा अर्थ मन्त्रालयका सचिवसंग बारम्बार छलफल भइरहेको समेत जानकारी गराएका छन् ।

इप्पानले एक हप्ताभित्र जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य अगाडि बढाई निर्माणमा रहेका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न हुने वातावरण सिर्जना गरिदिन जोडदार माग गर्नुका साथै, सो कुराको सुनुवाई एक हप्ताभित्र नभएमा थप सशक्त आन्दोलनमा जान समेत तयार रहेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*