पुँजि बजारमा फेरि कृत्तिम कारोबार ! कल मार्जिन पुर्याउन उधारो कारोबारको आशंका

२६ पुष २०७८, सोमबार ०६:५६

काठमाडौं । शेयर बजारमा हिजो भएको सात अर्ब रुपैयाँ कारोबार शंकाको घेरामा परेको छ । यसअघि दैनिक २२ अर्बसम्म कारोबार हुने गरेको शेयर बजारमा अहिले फेरि कृत्तिम कारोबार भएको आशंका व्यक्त गरिएको छ । उतिबेला शेयर बजारमा दैनिक रुपमा २२ अर्ब रुपैयाँ कारोबार भएपनि सो रकम बैंकिङ बैंकिङ प्रणालीमा गएको थिएन । अहिले पनि त्यही शैलीको कृत्तिम कारोबार सुरु भएको हो कि भन्ने आशंका उत्पन्न भएको छ ।

साताको पहिलो दिन हिजो सात अर्ब १० करोड १८ लाख रुपैयाको शेयर खरिद बिक्री भएको छ । पछिल्लो समयको बैंकहरुको अवस्था हेर्दा सो रकमको यथार्थ कारोबार हुने सम्भावना कम छ । एक बैंकरका अनुसार ब्रोकर कम्पनीहरुमार्फत उधारोमा कारोबार भएको हुनसक्दछ । उधारोमा अर्थात कृत्तिम कारोबार अन्तर्गत टीप्लस दुई दिनको नियम नमान्ने शेयर बिक्री गर्नेले पनि पाँच दिन पैसा नमाग्ने र शेयर खरिद गर्नेले तीन दिनपछि आफूले किनेको शेयर पुनः बिक्री गरेर हिसाब किताब बराबरी भएर बस्ने अवस्थालाई यहाँ कृत्तिम कारोबार भन्न खोजिएको हो ।
बजारमा चरम तरलता अभाव, बैंकहरुलाई १० लाख रुपैयाँको चेक साट्नै धौ धौ पर्ने अवस्थामा पुँजि बजारमा लगानी गर्न सात अर्ब रुपैयाँ कहाँबाट आयो ? प्रश्न चिन्ह उठेको छ । कतिपयले यसलाई कृत्तिम कारोबारको संज्ञा दिएका छन् । त्यसो त निश्चित मात्रामा ब्रोकर कम्पनीमै पैसा राखेर नेटिङ गर्न पाइन्छ । तर, नेपाल धितोपत्र बोर्डले दैनिक अर्बौ रुपैयाँ नेटिङका नाममा ब्रोकर कम्पनीको खातामा पैसा राखेर कारोवार गर्न दिन नहुने धारणा राख्दै आएको छ ।

बैंकमा तरलता हाहाकारको अवस्था उत्पन्न भई राज्यले उठाउनुपर्ने ऋण समेत रोकिएको अवस्थामा शेयर मार्केटमा एकै दिन सात अर्बको कारोबार हुनुले सबै क्षेत्र झस्किन पुगेका छन् । अर्कोतर्फ माघ लागेपछि बैंकहरुले कर्जा दिन सुरु गर्ने आशामा समेत उधारोमा कारोबार ह्वात्तै बढेको हुनसक्ने देखिएको छ । तर, माघ लागेपछि पनि बैंकहरुले कर्जा दिनसक्ने अवस्था नरहेको बरु उल्टै कल मार्जिनको हिसाब किताब हुने हुँदा शेयर बजार आफैमा तरल अवस्थातर्फ अघि बढ्नेछ ।

केहीले अहिलेको शेयर मूल्यबृद्धि र दैनिक सात अर्ब कारोबार हुने अवस्थालाई आगामी माघ महिनाबाट बैंकहरुले मार्जिन कलले दिनसक्ने तनावलाई हिसाब किताब मिलाउन गरिएको योजनाबद्ध कारोबार समेत भनेका छन् । शेयर बजारमा आगामी महिनाबाट दोस्रो वेभको असर आउने अनुमानका बीचमा भएको कारोबार थप शंकाको घेरामा परेको देखिएको छ ।

देशको अवस्था दयनीय बन्दै गइरहेको बेला शेयर बजारमा भने नाटकीय रुपमा मूल्यबृद्धि भइरहँदा ठूला माफियाहरु मोटाउने र नयाँ प्रवेश गर्ने तथा साना तथा मध्यम बर्गीय लगानीकर्ताहरु फस्ने सम्भावना अधिक हुन्छ । शेयर बजार जोखिम मोल्ने कारोबार हो भन्ने नबुझेका र असारमा धान रोपेर मंसिर पाकेपछि काटे झै शतप्रतिशत फल दिन्छ भन्दै लगानी गर्ने पर्याप्त ज्ञान नभएका लगानीकर्ताहरु फस्ने जोखिम बढेकोतर्फ नियामक निकायदेखि सचेत लगानीकर्ताहरु सबैको ध्यान जानु पर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*