कोरोना संक्रमणदर ह्वात्तै बढ्दा तनावमा सरकार, तत्काल लकडाउन भने नहुने

२५ पुष २०७८, आईतवार १७:२०

काठमाडौं । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको फैलावट नेपालमा पनि फेरी तीव्र रुपले बढ्न थालेपछि प्रत्येक जिल्लाले आ–आफ्नो तरिकाबाट शतर्कता तथा पूर्व तयारीका काम अघि बढाउन थालेका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ संकट ब्यवस्थापन केन्द्रलाई ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन निर्देशन समेत दिएका छन् । शुक्रबार एकैदिन ९६८ जनामा कोरोना संक्रमण र २४ जनामा कारोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन भेरियन्ट’ पुष्टि भएको थियो । शनिबार पनि सोही गतिमा बढेको कोरोनाको बृद्धिदर आज आइतबार पनि जारी रह्यो ।

कोरोनाबाट सबैभन्दा धेरै माओवादी केन्द्रका नेताहरु संक्रमित भएका छन् । हालै आठौँ महाधिवेशन सकेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, माओवादी कार्यालयकासचिव डोरप्रसाद उपाध्याय, अध्यक्ष प्रचण्डको सचिवालयका अधिकांश नेता तथा कार्यकर्ताहरु, शक्ति बस्नेत, एविन्द्र पराजुली र अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महाधिवेशनमा सहभागी भएका पम्फा भुसा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज माओवादीबाट मन्त्रिपरिषद्मा रहेको हुदाँ सरकारका मन्त्री पनि कोरोना संक्रमणको जोखिममा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुस महिनामा कोरोना संक्रमित १ हजार १४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटा एसजिन नेगेटिभ आएको र एस जिन नेगेटिभ देखिइएका २४ जनामा जिन सिक्वेन्सिङ गरिएकोमा सबै जनामा ओमिक्रोन देखिएसँगै यो सामुदायिक स्तरमा पनि फैलिएको हुने सक्ने त्रास विज्ञहरुले गरेका छन् ।

छिमेकी राष्ट्र भारतमा आज मात्र डेढ लाख भन्दा बढी जनामा संक्रमण देखिदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि परिरहेको छ । अहिले कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढि भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाइ ध्यान दिए विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि सीसीएमसीको बैंठकमा छलफल भएको थियो । सीमा नाकाहरु चुस्तदुरुस्त बनाउन तथा कोभिड १९ विरुद्ध खोप लगाउने कामलाई अझ तीव्रता दिन अहिलै सबै जिल्लाहरु तयारीमा जुटेका छन् । सरकारी स्रोतका अनुसार सरकारले तत्काल लकडाउन गर्ने निर्णयबारे सोचेको छैन । यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोन भाइरस कम शक्तिशाली भएको भएको तथ्य बाहिर आइरहेको समयमा जनस्वास्थ्य सम्बन्धी चिकित्सक डा. शेर बहादुर पुनले पनि तत्काल लकडाउन आवश्यक नभएको प्रतिक्रिया दिएका छन् ।

संक्रमणदर एकाएक बढ्दै गएपछि काठमाडौं उपत्यकामा समेत थप स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो ।

सोही क्रममा जिल्लामा आ–आफ्नो ढंगले गर्नुुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक बोलाएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पब्लिक मोबिलिटीलाई घटाउने, स्वास्थ्य मापदण्डलाई परिपालन गराउने र खोपलाई भ्यासिभली अघि बढाउनुपर्ने बताएका छन् ।

त्यस्तै, काठमाडौं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले स्वास्थ्य मापदण्ड पालना गराउने र अन्य तयारीका सम्बन्धमा तयारी अघि बढाउने लगायतका काम गरिएको बताएका छन् । साथै उनका अनुसार भक्तपुर र ललितपुरको जस्तो छुट्टै बैठक भने बोलाइएको छैन । तर छुट्टाछुट्टै छलफल गरेपछि भने तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*