बीरगञ्ज महानगरपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयरको प्रतिबद्धता

१४ पुष २०७८, बुधबार १५:०४

काठमाडौं ।  बीरगञ्ज महानगरपालिकाका बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आयोजकको तर्फबाट बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्णको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, उपप्रमुख शान्ति कार्की, महानगरपालिकाका वडा अध्यक्ष, सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारी बीमा कम्पनीका प्रमुख प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख विजयकुमार सरावगीले बीमासम्बन्धी जानकारी नहुँदा कृषि बीमामा दिइएको अनुदान उपयोगमा नआएको कुरा व्यक्त गरेका थिए । महानगरपालिकाले गत आर्थिक वर्षमा कृषि बीमामा अनुदानका लागि छुट्याएको १५ लाख रुपैयाँ उपयोगमा नआएको गुनासो कार्यक्रममा गरेका थिए । कार्यक्रममा सरावगीले बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा बीमा समितिले वडा–वडामा कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।कृषि बीमामाजोखिम विश्लेषण गरेर बीमाको प्रिमियम तोक्नु पर्ने र २५ हजार रुपैयाँ छुटको दायरा बढाउनुपर्ने विचार व्यक्त गरेका हुन् ।

साथै, उनले कृषि बीमाको प्रिमियममा अनुदान दिए जस्तै निजी सम्पत्ति बीमाको प्रिमियममा पनि सरकारले अनुदान दिनुपर्ने र अनलाइनबाट बीमा प्रिमियम संकलन तथा बीमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए ।

परम्परागत बीमालेखको सट्टामा हालको आवश्यकता अनुसारको बीमालेख ल्याउन, अतिरिक्त रकम नपाई काम नगर्ने बीमा सर्भेयरलाई कारवाही गर्न र शहरी क्षेत्रमा मात्र सीमित नभई गाउँ टोलसम्म बीमा कम्पनीहरु अनिवार्यरुपमा जाने व्यवस्था गर्न बीमा समितिसँग उनले आग्रह गरेका छन् । प्रमुख सरावगीले बीमासम्बन्धी नीति निर्माणमा महानगरपालिकालाई सहयोग गर्न र नगरपालिका महासंघका पदाधिकारीहरुसँग समेत बीमासम्बन्धी अन्तरक्रिया गर्न आग्रह गरे ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले देशमा बीमाको पहुँच विस्तारका लागि बीमासम्बन्धी विद्यमान व्यवस्थामा के कस्ता सुधार गर्नुपर्छ र बीमालेखमा कस्तो किसिमको परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा स्थानीय सरकारहरुबाट सुझाव लिने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा अध्यक्ष सिलवालले जेष्ठ नागरिकहरुलाई समेत बीमाको दायरामा ल्याउन महानगरसँग आग्रह गर्दै बीमा नीति निर्माणमा सहयोग गर्न समिति तयार रहेको बताए ।
उनले कृषि तथा पशुपन्छी बीमालेखमा सरलीकृत गरिने जानकारी दिनुहुँदै बीमा कम्पनीहरुलाई झुक्याएर बीमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न र कृषि तथा पशुपन्छी सहित सबै बीमाको दाबी भुक्तानी तत्काल गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइएको बताए ।

साथै, उनीहरुले जेष्ठ नागरिकका लागि बीमाको छुट्टै व्यवस्था गर्न, बीमालेखका सेवा शर्तलाई सरल एवम् छोटो बनाउन, स्वास्थ्य बीमामा देखिएका विसंगति हटाउन र वडा वडामा बीमासम्बन्धी चेतनामूलक कार्यक्रमहरु आयोजना गर्न आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*