नेपाल लाइफका दुई सञ्चालकले लिएको भत्ता विवादमा बीमा समितिद्धारा स्पष्टिकरण

१२ पुष २०७८, सोमबार १३:१०

काठमाडौं । नेपाल लाइफ इन्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ता विवादित रहेको भन्दै बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिलाई स्पष्टिकरण सोधेको छ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुले लिएको भत्ताको विषयमा गुनासो आएकाले पत्र पठाएर सोधिएको समितिले कार्यकारी निर्देशक राजुरमण पौडेले बीमापोष्टलाई बताए ।

पत्रको जवाफ आइसकेपछि थप निर्णय गरिने बीमा समितिले जनाएको छ । समितिका उच्च अधिकारीका अनुसार हाल पत्र पठाइएको छ र सोही आधारमा निर्णय गरिनेछ । कम्पनीबाट सञ्चालकहरुले लिएको भत्ताको सम्बन्धमा गुनासोका आधारमा कम्पनीका आठ जना संचालकहरुलाई पत्र पठाएर स्पष्टीकरण सोधिएको हो । बीमा समितिका कार्यकारी निर्देशक पौडेलले भने, ‘हामीले नेपाल लाइफमा संचालकहरुले लिएको भत्ता सम्बन्धमा केही गुनासोहरु सुन्यौं, कम्पनीले सपष्टीकरण दिएपछि मात्रै निर्णय हुन्छ ।’

बीमा समितिले गरेको अनुगमनका क्रममा संचालक कमलेश अग्रवाल र विमल ढकालले नियम विपरित ८ वटा उपसिमितिको संयोजक बसेर भत्ता बुझेको पाइएकोले स्पष्टिकरण सोधिएको बीमा समितिले जनाएको छ । एउटै उपसमितिमा दुई जना संयोजक बसेको समेत पाइएको अनुगमनको क्रममा पाइएको भन्दै बीमा समितिले पत्र काटेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ मा सञ्चालक समितिको बैठकको लागि ८४ लाख ३६ हजार रुपैयाँ खर्च गरेको थियो । गत आर्थिक वर्षमा नेपाल लाइफका सञ्चालकमा सबैभन्दा बढी भत्ता स्वतन्त्र सञ्चालक रहेका कमलेश अग्रवालले लिएको देखिएको छ । गतवर्ष कमलेश अग्रवालले २८ लाख ९० हजार रुपैयाँ बुझेका थिए । सो भत्ताको सम्बन्धमा बीमा समितिले नेपाल लाइफको सञ्चालक समितिलाई स्पष्टिकरण सोधेको हो । स्वतन्त्र सञ्चालक अग्रवालको नाममा सेयर नभएको नेपाल लाइफको वार्षिक प्रतिवेदनमा उल्लेख छ । स्वतन्त्र सञ्चालकको कम्पनीको शेयर खरिद गर्न नपाउने व्यवस्था छ ।

दोस्रोमा सबैभन्दा बढी भत्ता बुझ्नेमा बिमलप्रसाद ढकाल छन् । ढकालले १५ लाख २० हजार भत्ता बुझेका छन् । तेस्रोमा रामअवतार अग्रवालले १२ लाख ३ हजार भत्ता बुझेका छन् । त्यस्तै अर्का सञ्चालक पारुल ढकालले ८ लाख ११ हजार, विवेक अग्रवालले ६ लाख ५१ हजार तथा सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाईले सबैभन्दा कम पाँच लाख २४ हजार भत्ता बुझेका छन् ।

यसैबीच, बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा योग्यता नपुगी बढुवा गरिएका अमित कयाललाई पुरानै पदमा नियुक्ती दिई काममा लगाउन निर्देशन बीमा समितिले निर्णय गरेको छ । गत बुधबार बसेको बीमा समितिको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले दिएको जानकारी अनुसार नेपाल लाइफमा डेपुटी जनरल म्यानेजरमा बढुवा गरिएका कयालको योग्यता सम्बन्धी कागजात मागेर अध्ययन गर्दा त्यस्तो योग्यता नपुग्ने देखिएकोले पूर्ववत पदमा नियुक्ती दिई काममा लगाउन निर्देशन दिइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*