एकाएक बीमा कम्पनीहरुको शेयरको मूल्य किन बढ्यो ? यी हुन् लगानीकर्ता झुम्मिने चार कारण

११ पुष २०७८, आईतवार २०:००

काठमाडौं । शेयर बजारमा आज लगानीकर्ताहरु एकाएक बीमा कम्पनीको शेयरमा झुम्मिए । आज शेयर बजारमा अन्य कम्पनीमा भन्दा बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढ्दा सिंगो स्टक मार्केट नै उचालिन पुगेको छ ।

आज सर्वाधिक कमाउने कम्पनीहरुको शीर्ष स्थानमा मध्य भोटेकोशीबाहेक अधिकांश बीमा कम्पनीहरु रहेका छन् । सूची देखिएको थियो । आइतबार १३२ कम्पनीको मूल्य बढेको छ । आज जीवन बीमाको इन्डेक्स पनि ९.७८ प्रतिशत बढेर १४ हजार ६१७ पुगेको भने निर्जीवन बीमाको इन्डेक्स ८.१७ प्रतिशत बढेर १२ हजार ८ रुपैयाँको बिन्दुमा पुगेको छ ।

अधिकांश बीमा कम्पनीको मूल्य एक वर्षको न्यून मूल्यभन्दा तल झरेको थियो । यसबीचमा न्यून मूल्यमा कारोबार भइरहेका बीमा कम्पनीको आईतबार एकाएक चमक देखिएको हो । गत साताको बिहिबार देखि नै बीमा कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढी नै देखिन्थ्यो । आज बीमा कम्पनीसहित अन्य कम्पनीको मूल्यमा पनि सामान्य वृद्धि देखिएपछि नेप्से सूचकले थप उचाइ लिएको छ । भदौ २ गतेको ३१९९ बिन्दुबाट तल झरेको बजार मंसिर २७ गते हालसम्मकै न्यून २२५९ अंकसम्म झरेको थियो ।

त्यसपछि केन्द्रीय बैंकले आयातमा कडाइ गर्ने नीति जारी गरेको र सरकारले स्थानीय सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिएपछि शेयर बजारमा एकाएक सुधार देखिएको छ ।

किन झुम्मिए बीमा कम्पनीमा लगानीकर्ता ?
बीमा क्षेत्र बाहेकका अन्य क्षेत्रका अधिकांश कम्पनीको लाभांश घोषणा भइसकेको छ । त्यसैले अब बीमा कम्पनीहरुका लाभांश घोषणाको सिजन आउन सक्ने भएकोले लगानीकर्ताहरु झुम्मिएका हुन सक्छन् । जीवन बीमा कम्पनीहरूको २ वर्षको लाभांश अझै बाँकी नै छ । चालू आर्थिक वर्षको ६ महिना सकिन लागेसँगै लाभांश घोषणा गर्ने हल्ला फैलिएसँगै शेयर मूल्यमा एकाएक उछाल आउनु एउटा कारण हुनसक्दछ ।

दोस्रो कारणमा बीमा समितिले कम्पनीहरुको दायित्व बढेसँगै पुँजी वृद्धि गर्ने तयारी गरिरहेको हुँदा पनि हकप्रद जारी हुनसक्ने भएकोले लगानीकर्ताहरुको त्यसतर्फ आकर्षित भएको हुनसक्नेछ । तर, यो परिपक्व भइसकेको विषय भने होइन । बीमा समितिले हल्ला मात्रै चलाएको हो । बीमा समितिको उच्च नेतृत्व जिम्मेवारी व्यक्ति नहुँदा यस्तै खालका अपरिपक्व हल्लाहरु चल्ने गरेका छन् ।
तेस्रो कारणको रुपमा देशको अर्थतन्त्र यतिबेला गम्भिर अवस्थामा पुगेको अर्थशास्त्रीहरुले औल्याएका छन् । अर्थतन्त्र कमजोर बनेको अवस्थामा पनि बीमा क्षेत्र नडग्मगाउने हुँदा अर्थतन्त्रको सबैभन्दा सुरक्षित बलियो खम्बा बीमातर्फ लगानीकर्ताहरु आकर्षित भएका हुनसक्दछन् ।

चौथो कारणमा बजारका ठूला खेलाडीहरुले बीमा कम्पनीहरुको शेयर मूल्यमा उछाल आयो भन्दै हल्ला गर्ने, ह्वात्त मूल्य बढाउने र केही मुनाफा लिएर बिक्री गर्ने उद्देश्यले खेलाडीहरुको कोपभाजनमा पनि परेको हुनसक्नेछ । उल्लेखित कारणबाट अन्य कारण समेत हुन सक्दछ । सुक्ष्म र बहुकोणबाट विश्लेषणबाट गरेपछि मात्रै यथार्थ सबैका सामु आउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*