गुराँस लाइफमा वर्षौै काम गरेका कर्मचारीमाथि अत्याचार, पुरानाको बढुवा नहुने, अन्य कम्पनीबाट तानेका कर्मचारीको ७ तहसम्म बढुवा

९ पुष २०७८, शुक्रबार १७:११

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनले आफ्ना कर्मचारीहरुमाथि चरम विभेद गर्दै आएको छ । कम्पनीका नियुक्त सिईओ विपिन कुमार लालले पुराना कर्मचारीमाथि अन्याय र आफूसँगै एलआईसीबाट ल्याएका कर्मचारीहरुलाई काखा च्याप्ने निर्णयका कारण कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरु आक्रोसित बनेका छन् ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा वर्षौसम्म काम गरेका कर्मचारीहरु बढुवा तथा व्यक्तित्व विकास नभई पिल्सिएर बसिरहेकै बेला नयाँ सिईओले आफूसँगै एलआईसीबाट ल्याएका ११ जना कर्मचारीहरुलाई कर्मचारी नियमावली विपरित बढुवा गरेर भर्ना गरेको तथ्य फेला परेको छ । कम्पनीभित्र कार्यरत पुराना कर्मचारीहरुको घटुवा गर्ने तथा नयाँ भर्ना गरेकालाई एकै पटक सिनियर म्यानेजरमा भर्ना गरेपछि गत साता केन्द्रीय कार्यालयमै अप्रिय अवस्था सिर्जना भएको थियो ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार एलआईसीमा जुनियर मार्केटिङ अफिसरलाई सो कम्पनीमा ७ तह माथि सिनियर मेनेजर पदमा नियुक्ती दिइएको छ । त्यस्तै एलआईसीबाट ल्याएर भर्ना गरेका अन्य कर्मचारीहरुलाई पनि त्यसैगरी, गैर कानुनी तरिकाले बढुवा दिएर नियुक्ती दिएको पीडित कर्मचारीहरुको आरोप छ ।

बाहिरबाट ल्याएका कर्मचारीहरुलाई सात तहसम्म बढुवा गरेर भर्ना गर्ने र गुराँस लाइफमा वर्षौसम्म काम गरेका कर्मचारीहरुलाई उल्टै कार्यक्षेत्र घटाएर क्षेत्रीय प्रमुखहरुलाई शाखा प्रमुखका रुपमा सरुवा गरेपछि सो कम्पनीमा सबै कर्मचारीहरुमा आक्रोस बढेको थियो । सोही विषयमा गत साता दुई दिन कम्पनीका कार्यालय नै बन्द गरेर कर्मचारीहरुलाई व्यवस्थापनसँग गम्भिर छलफल गरेका थिए । गत शुक्रबार दुई पक्षका बीचमा सहमति भएको थियो । सिईओ बिपिन कुमार लाल तथा एलआईसी नेपालबाट गुराँस छिरेका कर्मचारीहरुले अझै पनि कर्मचारीहरुमाथि पेल्न नछोडेको गुनासो कर्मचारीहरुकोे छ ।

कुनै पनि संस्थाका लागि कर्मचारीहरु त्यहाँको पिल्लर नै हुन्छन् । तर, गुराँस लाइफ इन्स्योरेन्सका सिईओ तथा एलआईसी नेपालबाट छिरेका कर्मचारीहरुको पुराना कर्मचारीहरुमाथि गरेको व्यवहारले गुराँस लाइफमा कर्मचारीहरुकै बीचमा झगडा बढ्दै जाने देखिन्छ । यही अवस्था रहेमा आगामी दिनमा सो कम्पनीमा बीमा गरेका बीमितहरुको बचत समेत जोखिममा पर्नेछ भने कम्पनीको भविष्यमाथि समेत प्रश्न चिन्ह उठ्ने देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*