कोरोना बीमा बापतको ११ अर्ब ८२ करोड निकासा नहुँदा बीमितले रकम पाएनन्

७ पुष २०७८, बुधबार १०:४६

काठमाडौं । नेपाल सरकारले कोरोना दाबीका लागि दिनुपर्ने ११ अर्ब ८२ करोड अझै पनि निकासा गरेको छैन । बीमितहरु एक वर्षभन्दा लामो समयदेखि कोरोना बीमा बापत पाउनुपर्ने एक लाख रुपैयाँको लागि प्रतिक्षा गरिरहेको भएपनि सरकारले कोरोना बीमा बापतको दावी भुक्तानीको लागि रकम निकासा नगर्दा समस्या भएको आज प्रकाशित आर्थिक अभियान दैनिकमा समाचार छ ।

कोरोना बीमा मापदण्ड २०७७ मा उल्लेख भएको दावी भुक्तानी बापतको ११ अर्ब ८२ करोड रुपैयाँ सरकारले निकासा नगर्दा बीमा कम्पनीहरुले अझै दाबीको भुक्तानी पाएका छैनन् । सरकारले दायित्व बराबरको भुक्तानी नदिँदा कोरोना बीमा अझैपनि विवादमा रहेको छ । कोरोना बीमा मापदण्ड २०७७ मा साढे तीन अर्बभन्दा माथिको दायित्व नेपाल सरकारले लिने उल्लेख थियो । सोही शर्तको अधिनमा रही बीमा कम्पनीहरुले पौनो दुई लाख मानिसको कोरोना बीमा गराएका थिए ।

बीमा समितिले २०७७ वैशाखदेखि कोरोना बीमा सम्बन्धि पोलिसी लागू गरेको थियो । यसमा दायित्व बढेपछि २०७७ जेठमा यसकारको कारोबार स्थगित गरिएको थियो । तर सरकारले पछि साढे ३ अर्बभन्दा माथिको दायित्व लिने भनेपछि पुनः कोरोना बीमा कारोबार सूचारु गरिएको थियो । चालू आवेदेखि भने यो बीमा कारोबार बन्द नै गरिएको छ ।

सरकारले दाबीका लागि उक्त रकम उपलब्ध नगराउँदा बीमा कम्पनीहरुले कोरोना दाबी भुक्तानी गर्न नपाएको र यसले आम जनतामा बीमाप्रति नै नकारात्मक धारणा विकास भएको बीमा कम्पनीहरुले गुनासो गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*