अन्ततः हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सहमती, २७ अर्बको बैंक बन्दै

५ पुष २०७८, सोमबार १२:२९

काठमाडौं । नेपाली बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मर्जरसम्बन्धी सम्झौता भएको छ । नेपालका पुराना र ठूला दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच बिहीबार मर्जरको सम्झौता भएको हो ।

लामो अवधिदेखि मर्जरको चर्चा चलिरहेको भए पनि दुई बैंकका बीच अन्तत : सहमती भएको छ। नेपाल राष्ट्र बैंकले दुई पटक समय थप गरिदिएपछि यी दुई बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय भएको हो ।

राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि हिमालयन बैंकका तर्फबाट मर्जर प्रक्रिया अवरुद्ध भएको थियो। यही बीचमा बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम गौतमका ठाउँमा प्रचण्डमान श्रेष्ठ आएपछि मर्जर प्रक्रिया रोकिएको थियो।मर्जर रोकिएपछि राष्ट्र बैंकले दुई पटक समय थप गरेको थियो।

हिमालयन बैंकको मंसिर १० गतेको सञ्चालक समिति बैठकले मर्जर प्रक्रिया अगाडि बढाउनुपर्ने थियो। तर श्रेष्ठले केही ’अनावश्यक’ माग राखेर प्रमुख कार्यकारीलाई पत्र लेखेपछि अवरुद्ध भएको थियो। हिमालयन बैंकको आइतबार साँझ भएको बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

आगामी शुक्रबारसम्म २१ दिनको समय राखेर साधारणसभा डाक्ने छ। साधारणसभाको मुख्य एजेण्डामा लाभांशसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने हुने छ।

यसअघि बारम्बार मर्जरमा जाने हल्ला चलेपनि अन्तत दुई बैंकले मर्जरको प्रकृया अगाडि बढाउने भएको हो । दुई बैंकबीच मर्जर नाम भने हिमालय नेपाल इन्भेष्टमेन्ट बैंक हुने छ। अध्यक्ष इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुने छन्।

यसै बीच दुई बैंकबीच हिमालयन बैंकभन्दा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब सुविधा कम छ। उनीहरुको आगामी चार वर्षभित्र समायोजन हुने गरी मिलाइएको छ। सफ्टवेयर हिमालयन बैंककै प्रयोग हुने छ।हाल नेपाल इन्भेष्टमेन्टको चुक्ता पुँजी १६ अर्ब २६ करोड छ भने हिमालयन बैंकको १० अर्ब ६८ करोड चुक्ता पुँजी रहेको छ ।दुई बैंकको मर्जरपछि चुक्ता पुँजी २६ अर्ब ९४ करोड हुनेछ । तर, पुनः विस्तृत ड्यु डेलिजेन्स रिपोर्ट (सम्पत्ति दायित्वको प्रारम्भिक मूल्यांकन प्रतिवेदन) तयार गरेपछि बैंकमा दुवै बैंकको सम्पत्ति र दायित्वको विस्तृत जानकारी आउनेछ ।

विस्तृत डिडिएले १० प्रतिशतसम्म प्रतिसेयर मूल्यमा तलमाथि देखाए पनि एकबराबर एक अनुपातमै मर्जर हुने बैंकहरूबीच आन्तरिक सहमति भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*