प्रिपेड डलर खातामार्फत ८ महिनामा नेपालबाट बाहिरियो १९ करोड, १८ हजारले खोले डलरमा खाता

२ पुष २०७८, शुक्रबार ०८:०९

काठमाडौं । सरकारले हरेक नेपालीहरुलार्ई ५०० अमेरिकी डलर बराबरको प्र्रिपेड डलर खाता खोल्न पाउने व्यवस्था गरेसँगै आठ महिनामा १९ करोड बाहिरिएको नेपाल राष्ट्र बैंंकले जनाएको छ ।

गत वर्ष चैत्रबाट विष्णु पौडेल अर्थमन्त्री हुँदा सुरु भएको यो व्यवस्थाले नेपालबाट पुँजि सजिलै विदेश पुर्याउन सम्भव छ । सोही नीतिमा टेकेर हालसम्म १८ हजार ३२८ जनाले बैंक खाता खोलेका छन् । उनीहरुको डलर खातामा ९१ करोड रुपैयाँ जम्मा भएको छ । यद्यपि सो रकम सबै विदेश पुगिसकेको छैन ।

राष्ट्र बैंकका अनुसार हालसम्म जम्मा १८ लाख डलर मात्रै बाहिरिएको हो । बाँकी ग्राहककै खातामा संचिती छ । विदेशी मुद्रा संचिती घटिरहेको समयमा डलर कार्डमार्फत खुरुखुरु विदेश रकम जाँदा समेत कसैको ध्यान पुग्न सकेको छैन । राष्ट्र बैंक स्रोतले भन्यो, अहिलेसम्म धेरै ठूलो मात्रामा विदेशिएको छैन, तर यसलाई समयमा रोक्न नसके ठूलो मात्रामा पुँजि विदेश पुग्ने सम्भावना छ ।

चालु आर्थिक वर्षको चार महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति करिब एक खर्ब ५४ अर्ब रुपैयाँ घटेको छ । यसअनुसार गत कात्तिकमा कुल विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो ११ प्रतिशत घटेको छ । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । गत असारयता हरेक महिना विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । यति ठूलो मात्रामा विदेशी मुद्रा संचिती घटेपछि अर्थतन्त्रमा तनाव बढेको छ ।

राष्ट्र बैंकले गत चैतमा विदेशी मुद्रामा बैंक खाता नभएका वा विदेशी मुद्रा आर्जनको स्रोत नभएका जुनसुकै सर्वसाधारणले पनि वार्षिक ५ सय अमेरिकी डलर बराबरको भुक्तानी विदेशी मुद्रामा गर्न पाउने व्यवस्था गरेको थियो । यसका लागि सर्वसाधारणले आफ्नो खाता रहेको वाणिज्य बैंक वा विकास बैंकमा गएर ‘प्रिपेड कार्ड’ बनाउनुपर्ने व्यवस्था छ ।

यस्तो कारोबारका लागि वार्षिक अधिकतम ५ सय अमेरिकी डलरको सीमा तय गरिएको छ । सर्वसाधारणले एकै पटक वा पटकपटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलरबराबरको भुक्तानी मात्र विदेशी मुद्रामा गर्न पाउँछन् । यस्तो कारोबारमा तोकिएको सीमाभित्र रहेर नेपालको कानुनले वञ्चित नगरेका सबै प्रकारका वस्तु तथा सेवा खरिद गर्न सकिने प्रावधान छ ।

राष्ट्र बैंकले उक्त व्यवस्था लागू गरेसँगै कतिपय बैंकहरुले सर्वसाधारणलाई प्रोत्साहन गर्दै डलरमा खाता खोल्न र विदेशबाट सामान आयात गर्न पाइने प्रचार सहित डलर कार्ड बिक्री गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*