जब बुद्ध एयरको जहाजले जमिन छोड्ने वित्तिकै बायाँ इन्जिन धुवाको मुस्लोसहित विस्फोट भयो …..

१ पुष २०७८, बिहीबार २३:४१

काठमाडौं । बिहिवार अपरान्ह १ः१६ बजे चितवनको भरतपुरस्थित विमानस्थलबाट काठमाडौंको लागि उडान भरेकोे बुद्ध एयरको ९एन–एएई कलसाईन भएको बिचक्र्याफ्ट जहाजका पाइलटले अपरान्ह १ः१८ मा भरतपुरस्थित कन्ट्रोलमा ‘मेडे ! मेडे ! भन्दै कराए । टावरमा ‘मेडे’ भन्ने शब्द सुन्ने वित्तिकै भरतपुर विमानस्थलमा एयर ट्राफिकको तर्फबाट बुद्ध एयरको चालकसँग अवतरणको लागि गर्नुपर्ने सहयोगबारे सोधियो । क्याप्टेनले जहाजको बायाँ इन्जिन फेल भएको र आफू जतिसक्दो छिटो अवतरण गर्न चाहेको जानकारी दिए ।

तत्कालै एयर ट्राफिकले दमकललाई तयारी अवस्थामा रहन र सुरक्षाकर्मीहरुलाई तत्तयार रहन एलर्ट जारी गरियो । जहाज आकाशमै धुवाको मुस्लोसहित उडिरहेको थियो । सुरुमा क्याप्टेनले दुई वटा इन्जिन हुन्छ सकेसम्म एउटा इन्जिनको सहायताले काठमाडौं पुर्याउँछौं भन्दै यात्रुहरुलाई सम्झाउन खोजेका थिए । तर, जहाजले उचाई लिनै नसकेको अवस्था र यात्रुहरुको चर्को विरोधपछि आपतलिन अवतरणको निर्णय लिन चालक दल बाध्य भएको पीडित यात्रुले जनाएका छन् ।

भिडियो सौजन्य सिनर्जी अनलाईन टिभी

जहाजमा १९ जना यात्रु थिए । जहाजमा यात्रारत एक यात्रुका अनुसार जहाजको बायाँतर्फको इन्जिन विस्फोट भएको ठूलो आवाज आयो, धुवाको मुस्लो निस्किएको थियो । जहाजभित्र खैलाबैला मच्चियो । जहाजभित्र धुवा पनि भरिन थालेको थियो । अधिकांश यात्रुहरुले बाचिने आशा मारिसकेका थिए । बाच्ने आशा मारेका उनीहरुले भगवान पुकार्दै थिए । चालकले समयमै सही निर्णय गरेका कारण करिब १० मिनेटपछि जहाज सकुशल भरतपुरस्थित विमानस्थलमै अवतरण गर्न सफल भएको छ ।
तत्कालै सुरक्षाकर्मीले यात्रुलाई ओरालेर जहाज खाली गराएका थिए । धावनमार्गमा रोकिएको जहाजका कारण बिहिवार अपरान्ह भरतपुर विमानस्थल अबरुद्ध हुन पुगेको थियो । पछि सुरक्षाकर्मीहरुले तानेर जहाजलार्ई किनारा लगाएपछि मात्रै विमानस्थल खुल्ला भएको हो । बुद्ध एयरले सो जहाजका यात्रुहरुलाई करिब दुई घण्टापछि अर्को जहाजमा काठमाडौं पठाएको छ ।

जहाजको कमाण्ड गरिरहेका क्याप्टेनकोे कुशलता र एयर ट्राफिक कन्ट्रोलरको सुझबुझपूर्ण तयारीका कारण नेपाल आकाशमा आज अर्को एउटा दुर्घटना टरेको छ । बुद्ध एयरको २४ वर्ष पुरानो जहाज भरतपुरबाट काठमाडौं आउन उडान भरे लगत्तै भएको घटनामा बाल बाल बचेको छ । सन् १९९७ मा बुद्ध एयरले हवाई उडान सुरु गरेको ऐतिहासिक जहाज मात्रै बचेको छैन १९ यात्रु र ३ चालक दलका सदस्यको जीवन र अर्बौ रुपैयाँको सम्पत्ति समेत जोखिएको छ । सम्भावित दुर्घटना टरेपछि बीमा कम्पनीहरुको करोडौं रुपैयाँको जोखिम समेत आजका लागि टरेको छ । जहाज दुर्घटनामा यात्रुको बीमा तथा जहाज समेत गर्दा करोडौं रुपैयाँको बीमा गरिएको हुन्छ ।

इन्जिनमा विस्फोट भएर आगो लागेको बुद्ध एयरको जहाज पुनः उडाउनको लागि नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनीका प्राविधिक टोलीले उक्त जहाजको निरीक्षण सुरु गरिसकेको जनाइएको छ ।

उक्त जहाज २४ वर्ष पुरानो भएको पत्ता लागेको छ । ट्वीन इन्जिन टर्पोप्रोप फिक्सड विङ्स भएको जहाजको बुद्ध एयरको लापरवाहीका कारण दुर्घटनामा परेको यात्रुहरुले आरोप लगाएका छन् । यात्रुहरुले इन्जिनमा आगो लागेको जहाजलाई जबरजस्ती काठमाडौं लैजान खोजेर यात्रुहरुको ज्यान जोखिममा राखेको आरोप समेत लगाएका छन् । बिहिवार दुर्घटनामा परेको जहाजबाट उत्रिएका यात्रुहरुले बुद्ध एयरका चर्को विरोध गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*