समता घरेलु लघुवित्तको साधारण सभा पुष ७ गते, २५ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

१ पुष २०७८, बिहीबार ०९:५३

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले उक्त सभा पुष ७ गते बुधबार मिरोबेल रिर्सोट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनाफाबाट कायम चुक्तापूँजी २८ करोड ५६ लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुलन २५ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले संस्थाको केन्द्रिय कार्यालय बनेपा–८, काभ्रेपलाञ्चोकबाट बनेपा–७ स्थानान्तरण गरी ठेगाना परिवर्तन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । त्यस्तै, शेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी पुनः सर्वसाधराणलाई एफपीओ जारी गर्ने प्रस्तावलाई अघि बढाउनेछ ।

उक्त सभाको प्रस्तावमा १ जना महिला संचालक सहित संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्नै २ जना गरी ६ जनाको संचालकको निर्वाचन गर्ने रहेको छ ।

साथै आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०७८।०७९ को लागि लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको अन्य एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर २४ गतेदेखि पुष ७ गतेसम्म शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको छ । जसअनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्र सभामा उपस्थित हुन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*