पाँच वर्षभित्रैमा जोखिममा आधारित पुँजिकोष बनाउन बीमा कम्पनीहरु सहमत !

विश्व बैंकको आयोजनामा बीमा कम्पनी र बीमा समितिबीच छलफल
२९ मंसिर २०७८, बुधबार २२:५४

काठमाडौं । नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढ्ने विषयमा लगभग सहमति जुटेको छ । आज विश्व बैंकले आयोजना गरेको छलफल कार्यक्रममा नेपालमा जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षले जोखिममा आधारित पुँजि कोष बनाउन तयार रहेको सन्देश सरकार, बीमा समिति र विश्व बैंकलाई दिएका छन् ।

केही दिनदेखि बीमा समितिसँग छलफल गरेको विश्व बैंकले आज सबै कम्पनीका सिइओहरुसँग बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेललाई सहभागी गराएर छलफलमा सबै बीमा कम्पनीहरु जोखिममा आधारित पुँजि कोष बनाउने सम्बन्धमा तयार देखिएका छन् ।

छलफलमा सहभागी एक बीमा कम्पनीका सिईओका अनुसार चरणबद्ध रुपमा जोखिममा आधारित पुँजिकोष सम्बन्धी व्यवस्था लागू गर्न सहमत भएका छन् । छलफलमा तीन देखि पाँच वर्षभित्रमा बीमा कम्पनीहरुको जोखिम मूल्याङ्कन गरेर पुँजिकोष बृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको थियो । सो छलफलमा नियामक निकाय बीमा समिति र सबै बीमा कम्पनीहरुलाई विश्व बैंकले दक्ष प्राविधिक सहयोग गर्न आग्रह गरेका छन् ।

आजको छलफलमा विश्व बैंकको तर्फबाट प्रस्तुतिकरण पेश गरिएको थियो । विश्वमा जोखिममा आधारित पुँजि कोषको निर्माणको अभ्यास, यसबाट हुने फाइदा छिमेकी देशहरुमा गरिएको अभ्यास समेटिएको प्रस्तुतिरकरण गरिएको थियो । विश्व बैंकले श्रीलंकामा नौ वर्ष लगाएर यस्तो व्यवस्था लागू गरेको जनाउँदै नेपालमा तीनदेखि पाँच वर्षभित्रमा यस्तो व्यवस्था लागू गर्न सकिने सुझाव दिएको छ ।

जोखिममा आधारित पुँजि कोषको नियम लागू भएमा नेपालका नाम चलेका ठूलो कम्पनीहरुको चुक्ता पुँजि हालको भन्दा निकै बृद्धि हुनेछ भने सामान्य अवस्थामा रहेका कम्पनीहरुको चुक्ता पुँजि अहिले भइरहेकैले पर्याप्त हुनेछ ।

यस्तो व्यवस्था लागू गर्नुअघि जोखिम मूल्याङ्कन आवश्यक भएको र त्यसको लागि दक्ष जनशक्ति नभएकोले कम्तीमा पाँच वर्षका लागि विश्व बैंकले दक्ष जनशक्ति सहयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

छलफलमा सहभागी एक अधिकारीका अनुसार नियामकले तोकेको चुक्ता पुँजिको सीमाभित्र सबै कम्पनी रहेका हुन्छन् भने सो जोखिममा आधारित चुक्ता पुँजिको व्यवस्था अनुसार थप पुँजि पुर्याउनुपर्ने कम्पनीहरुले थप पुँजिको व्यवस्था गर्नुपर्ने हुन्छ ।
बीमा समितिले हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुको चुक्ता पुँजि बृद्धि गर्ने योजना बनाउँदै गर्दा विश्व बैंकले जोखिममा आधारित चुक्ता पुँजिको अवधारणा अघि सारेपछि अब बीमाको पुँजि बृद्धि गर्ने योजनाको औचित्य सकिएको बीमा क्षेत्रका विज्ञहरुको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*