जीवन बीमा कम्पनीको बोनसदर देखाउने एउटा–पाउने अर्कै,बीमाङ्कीय मूल्याङ्कनमा सेटिङ गर्दै बीमा बोनसदर बनाउँदै

२८ मंसिर २०७८, मंगलवार २२:४६

काठमाडौं । नेपालमा एक्चुरी नभएको मौका छोपेर भारतीय सस्ता र भनेको मान्ने एक्चुरीमा बीमाङ्कीय मूल्याङ्क गराइँदा जीवन बीमा कम्पनीहरुहले बीमितमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको पाइएको छ ।

एउटा कम्पनीले कतिसम्म बोनसदरमा अन्तर राख्न पाइने हो ? भन्ने कुनै मापदण्ड नभएकोले बीमा अभिकर्तामार्फत बाहिर प्रचार गर्ने एउटा र भित्र बीमितले पाउने अर्को बोनस दरका कारण बीमितमाथि दिन दहाडै अन्याय भइरहेको पाइएको हो ।

सो सम्बन्धमा बीमा समितिमा सम्पर्क गर्दा बीमाङ्कीय मूल्याङ्कनको क्रममा नै बोनस दर निर्धारण हुने भएकोले नियामक निकायले केही बोल्न नमिल्ने जानकारी प्राप्त भएको छ । तर, बीमापोष्टलाई प्राप्त जानकारीमा नेपालका जीवन बीमा कम्पनीले भारतीय एक्चुरीलाई घुस रकम दिई बोनसदरमा अत्याधिक अन्तर राखेर बोनसदर निर्धारण गर्ने गरेको पाइएकोछ । यसरी अन्यायपूर्ण बोनसदर राखेर बीमितलाई विभेद गर्ने कम्पनीहरुमा रिलायन्स लाइफ, ज्योति लाइफ लगायतका कम्पनीहरु रहेका छन् । रिलायन्स लाइफ इन्स्योरन्स कम्पनीले न्यूनतम् १९ रुपैयाँदेखि ६० रुपैयाँ बोनसदर राखेर बीमितमाथि ठूलो अन्याय गरेको पाइएको छ । सो कम्पनीले बीमितलाई झुक्याउन अधिकतम् ६० रुपैयाँ बोनस दिने प्रचार गर्दै अधिकांश बीमितहरुलाई भने २४ देखि ३५ रुपैयाँ बोनस दिने गरेको तथ्याङ्कमा देखिएको छ ।

बीमा गर्दा देखाउनको लागि ६० रुपैयाँ राखिएको बोनस जम्मा २७४ जनाले मात्रै पाउने देखिएको छ । सो कम्पनीमा बीमा गराएका १२ हजार जनाले ३५ रुपैयाँ र पाँच हजार भन्दा बढिले २४ रुपैयाँ भन्दा कम मात्रै बोनस दर पाउने छन् ।

त्यस्तै अर्को ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस दरको अवस्था उस्तै छ । सो कम्पनीले ७५ रुपैयाँ बोनस पाउने भन्दै प्रचार गरेपनि २४ हजार भन्दा बढि बीमितले ५० रुपैयाँ प्रतिहजार प्रतिवर्ष मात्रै बोनस पाउनेछन् । त्यस्तै, न्यूनतम् ४३ रुपैयाँदेखि ७५ रुपैयाँ बोनस रहेको कम्पनीमा जम्मा २५८ जना मात्रै छन् ।

यी दुई कम्पनी उदाहरण मात्रै हुन् । नेपालमा सञ्चालित थुप्रै जीवन बीमा कम्पनीहरुले यही शैलीको प्रचार गर्दै सोझा सर्वसाधारणलाई झुक्याउने गरेका छन् । यस्तो गलत कार्यले सिंगो बीमा व्यवसायको श्रीबृद्धिमा धक्का पुग्नेछ । गलत र झुठा प्रचारमार्फत बीमा व्यवसाय गराइँदा बीमाको दीगो विकास र स्थायित्व नहुने बीमा विज्ञहरुको भनाई छ ।

बीमाङ्कीय मूल्याङ्कनको आधारमा बोनसदर घोषणा गरेपनि बीमा समितिले पुनः बीमाङ्कीय प्रमाणिकरणको क्रममा यस्ता त्रुटीहरु सच्याउन नसकेको बीमा समितिकै उच्च अधिकारी स्वीकार गर्दछन् । उता, यस्ता कार्यमा संलग्न कम्पनीहरु भने कम्पनीको वित्तिय अवस्था अनुसार बोनसदर घोषणा गरिने भएकोले बीमितहरु आफै सचेत हुनुपर्ने धारणा राख्छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी उमेश प्रसाद मैनालीले अन्य कम्पनीहरुको तुलनामा ज्योति लाइफको बोनसदरमा ठूलो डेभिएशन नभएको दावी गर्छन् । उनले भने,‘कम्पनीहरुले आफ्नो वित्तिय अवस्था अनुसार बोसनदर घोषणा गरेका हुन्छन्, बीमितहरु आफैले कुन बोनसदर ठीक हुन्छ भनेर हरेर पोलिसी लिँदा राम्रो हुन्छ ।’

जीवन बीमा कम्पनीहरुले गर्ने यस प्रकारको ठगीको सम्बन्धमा नियामक निकाय बीमाङ्कीय मूल्याङ्कनलाई देखाएर मौन बस्न नमिल्ने बरु बीमाङ्कीय मूल्याङ्कन प्रमाणिकरणमा यस्ता सेटिङहरु भत्काईनुपर्ने तर्फ बीमा समितिको ध्यान जाने हो कि !

 

 

2 thoughts on “जीवन बीमा कम्पनीको बोनसदर देखाउने एउटा–पाउने अर्कै,बीमाङ्कीय मूल्याङ्कनमा सेटिङ गर्दै बीमा बोनसदर बनाउँदै

  1. arjun budhathoki says:

    Ek company ko ceo sir purbanchal business conference ma 42 lai 62 banauna mali aucha actury ko pani mukh huncha tapai haru bonus ko bare ma chinta na linus bhanera bhanthe…………aaja bala news ayacha congratulation.

  2. कृष्ण प्र आचार्य says:

    ठगि गर्ने उचित माध्यम अपनाइएको छ,, योजनाको प्रकार फरक हुनु स्वाभाविक हो तर उस्तै उस्तै दर-रेटमा बिमितलाइ ठगि हुनबाट बचाउन बिमा समितिले सक्नु पर्छ तर चाहि रहेका छैनन, त्यतिबाट प्रष्ट हुन्छ, सेटिंग कहाबाट शुरु हुन्छ भनेर,, बिदेशि भ्यालुएटरले त जस्तो भन्यो -त्यस्तै तयार गरेर दिन्छ।पास गर्ने मुल थलो कहा हो त? किन सच्याउन नभनेर पास गरिन्छ त?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*