कता जाँदैछ शेयर बजार ? कहाँ हराए गत वर्ष ३२०० पुर्याउने खेलाडीहरु ?

२४ मंसिर २०७८, शुक्रबार १३:२७

काठमाडौं । नेपालको पुँजि बजार इतिहासकै दयनीय अवस्थातर्फ अघि बढिरहेको छ । गत असोजदेखि घट्नेक्रममा रहेको शेयर बजार २५०० बाट तल झरिसकेको छ । शेयर बजारका विश्लेषकहरुले नेप्से २५०० बाट तल झर्नुलाई मार्केटको क्र्यासको रुपमा अथ्र्याइरहेका छन् ।

शेयर बजारको चरित्र नै बजार मूल्य स्वतन्त्र रुपमा निर्धारण हुनु हो । स्वतन्त्रताको नाममा केही माफियाहरुले सोझा लगानीकर्तालाई फसाउन सधैं नियोजित योजना बनाइरहेका हुन्छन् । नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय रुपमा नै शेयर बजारका माफियाहरुले शेयर बजारलाई प्रभावित पार्ने गरिरहेका हुन्छन् । नियामक निकायले मूल्य निर्धारणको स्वतन्त्रतामा हस्तक्षेप नहोस् भनेर प्रत्येक सेकेण्ड चनाखो भइरहेका हुन्छन् । नेपालमा भने नियामक निकायमा हुने राजनीतिक हस्तक्षेप, विभिन्न संघ संस्थाको नाममा हुने हस्तक्षेपका कारण शेयर बजारमा कृत्तिम कुरा फैलाएर, नीतिगत रुपमा सरकारी योजनामा शेयर बजारका कुरा घुसाएर मूल्य निर्धारणमा प्रभावित पारिरहेका हुन्छन् ।

शेयर बजारको मूल्य २५०० बाट तल झरेपछि अब बजार कता जान्छ ? आम लगानीकर्ताहरुलाई निकै चासोको विषय बनिरहेको छ । लगानीकर्ताहरु शेयर किन्ने अवस्थामा देखिदैनन् । जसका कारण नेप्सेमा कारोबार रकम समेत घटिरहको छ । शेयर बजारमा कारोबार रकम समेत घटेपछि लगानीकर्ता निराशा भएको अर्थमा बुझिन्छ । तर, कारोबार रकम घट्नुमा लगानीकर्ताहरुको मनोबलसँग मात्रै जोडेर हेर्न मिल्दैन । यतिबेला नेपालको बैंकिङ सिष्टममा आएको तरलता समस्या पनि अर्को हो ।

शेयर बजार घट्दै जाँदा आम लगानीकर्ताहरु चिन्तित देखिन्छन् । पोर्टफोलियोको आकार खुम्चिदै जाँदा लगानीकर्ताहरु थप चिन्तामा पर्ने संकेतहरु समेत देखिएका छन् । लगानीकर्ताहरुमा आरालो लागेको शेयर मार्केट कतिसम्म तल झर्ला भनेर अनुमान लगाउँदैछन् । यथार्थमा नेप्से कतिसम्म तल जान्छ वा पुनः यही रोकिएर माथि जान्छ यो कुरा कसैलाई पनि थाहा हुँदैन । कुनै पनि कारण बिना तथा उद्योगधन्दा झन् झन् जर्जर भएको अवस्थामा गत वर्ष आकासिएको शेयर बजार कोरोना महामारीबाट विस्तारै मुक्ति मिल्दै गर्दा शेयर बजारमा भने निराशा छाएको छ ।

वास्तवमा कुरा बढो रोचक छ । जब देश कोरोनाबाट तनावपूर्ण अवस्थामा थियो, सिंगो देश लकडाउन हुँदै अघि बढिरहेको थियो । त्यतिबेला शेयर मार्केट ह्वात्तै बढेको थियो । जतिबेला कोरोना अब सकियो, अब सबै राम्रो हुन्छ भन्दै दुई वर्षपछि विद्यालय, कलेजहरु समेत खुले तब शेयर मार्केट क्र्यास हुने दिशातर्फ अघि बढेको छ ।

आम लगानीकर्ताहरुको मनोभावना घट्दोक्रममा रहेको शेयर बजारमा कम्तीमा २००० को बिन्दुमा नेप्से आईपुगेमा पनि शेयर बिक्री नगरी जमेर बस्ने मनस्थितिमा रहेको देखिन्छन् । यसले सर्टटम कारोबार गरेकाहरुलाई अप्ठेरो पनि पनि दीर्घकालिन रुपमा शेयर बजारमा छिरेका र स्टक मार्केटमै भविष्य बनाउँछु भन्नेहरु त्यति अत्तालिएको पाइदैन । त्यसैले अहिलेको शेय मार्केट कतिमा पुगेर रोकिन्छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन । यसअघिको पटक १८०० को बिन्दुबाट तल झरेको नेप्से ८०० को बिन्दुसम्म पुुगेको थियो । तर पछि पुनः बढेर १२०० र १५०० को बिन्दु छुँदै फर्कदै गरेको इतिहास छ ।

शेयर बजारको मूल्य निर्धारण यात्रा सधैं एउटै गतिमा हुँदैन । त्यसैले ३२०० को बिन्दुबाट तल झर्न थालेको शेयर बजार यति नै बिन्दुमा पुगेर रोकिन्छ भनेर भन्न सकिदैन । विगत तीन वर्षको अवधीमा नेप्सेमा करोडौं कित्ता शेयर थप भएका छन् । त्यस आधारमा अहिलेको २४०० को बिन्दु नै हिजोको १२०० बिन्दु सरह मान्न सकिन्छ । त्यसैले अझै तल झर्छ वा अब यही रोकिन्छ भनेर कसेर विश्लेषण गर्छ भने त्यो गलत हुन्छ । अर्को कुरा यही बिन्दुबाट फेरि शेयरको मूल्य ह्वात्तै बढेर ६००० को बिन्दुमा पनि पुग्न सक्दछ ।

पुँजि बजार यतिमा झर्छ वा यस्तो अवस्था आउँछ भनेर विश्लेषण गर्नु सर्वथा झूठा र गलत हुनजान्छ । साथै स्वघोषित विश्लेषकहरुको कुरा पत्याएर बजारमा शेयर किनबेच गर्नुको हुँदैन । लगानीकर्ताहरुले शेयर किन्नु वा बिक्री गर्नुअघि बजार विश्लेषण र कम्पनीहरुको वित्तिय अवस्था हेरेर मात्रै शेयर खरिद बिक्री गनुपर्नेछ ।

शेयर बजारबारे केही कुरा लेख्दै गर्दा गत वर्ष १३०० को बिन्दुबाट ३२०० मा पुर्याउँदा शेयर बजारका खेलाडीहरुको राम्रै भूमिका भएको कुरा सबैलाई थाहा भएकै कुरा हो । ३२०० को बिन्दुमा पुग्ने गरी शेयर बजार बेलुनको आकारमा फुलाइएको सम्बन्धमा सबै अर्थविदहरुले स्वीकार गरेको अवस्था छ । त्यसैले विगतमा शेयर बजारलाई बेलुन जसरी फुलाउन भूमिका खेल्नेहरु आज कहाँ छन् ? हिजोका दिनमा दैनिक २२ अर्ब रुपैयाँसम्म कारोबार गर्नेहरु अहिले कुन दुलामा पसेका छन् । शेयर बजारका माफियाहरु कतै तिनै त होइनन् ? विगत एक वर्षमा शेयर बजारमा माफियाहरु कति कमाएर कुम्ल्याए ? यसको लेखाजोखा कसले गर्ने ? कतै माफियाहरु १३०० हुँदा लगानी गरेको शेयर एक वर्षमा ३२०० पुर्याएर पुनः शेयर बिक्री गरी बजारबाट पलायन भइसकेका त होइनन् ? यसको हिसाब किताब कसले गर्ने हो ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*