‘मकवानपुरमा मिडिया’ बिमोचन गर्दै बागमति प्रदेश प्रमुख शर्माले भने ‘सकारात्मक पत्रकारिता गरौं’

२३ मंसिर २०७८, बिहीबार १४:२७

मकवानपुर । राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा प्रकाशित तथा पत्रकार गिरिजा अधिकारीद्वारा लिखित अनुसन्धनात्मक पुस्तक ‘मकवानपुरमा मिडिया’ आज एक कार्यक्रमका बीच बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा हेटौडामा विमोचन गरिएको छ ।

राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा आयोजित पुस्तक बिमोचन समारोहमा प्रदेश प्रमुख शर्मा, बागमति प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमति प्रदेश सांसद मुनु सिग्देल र संस्थाका अध्यक्ष नबराज न्यौपानेले संयुक्त रुपमा आज बिमोचन गरेका हुन् ।

पत्रकार तथा साहित्यकार अधिकारीले तयार पारेको मिडिया अनुसन्धानमूलक कृतिमाथि रामचन्द्र फुर्सतीले टिप्पणी गरेका थिए । पुस्तक बिमोचन गर्दै बागमति प्रदेश प्रमुख यादवचन्द्र शर्माले मकवानपुरमा मिडियाले खेलेको भूमिकाबारे गहिरो अध्ययन गरेर पुस्तक तयार पारिएकोले पत्रकारितामा सक्रिय, अनुसन्धानकर्ताहरुका लागि समेत निकै महत्वपूर्ण भएको बताए ।

प्रमुख शर्माले पत्रकारिता राजनीतिक दलको छायाँ बन्न नहुने र जनप्रतिनिधि तथा सरकारका उच्च पदस्थ अधिकृतहरुले गरेका अनियमित कार्यको लागि सत्यतथ्य समाचार सार्वजनिक गर्न आफुमा दृढता हुनुपर्ने बताए । साथै उनले सकारात्मक सोचका साथ पत्रकारितामा सक्रिय हुन आह्वान गरेका छन् ।

सो अवसरमा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गर्नुहुँदै लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगबाट सबैलाई वितरण गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

उनले कोभिड १९ का संक्रमणबाट प्रभावित भएका सर्वसाधारण नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाउने र सबै सरकारी अस्पतालहरुमा गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक जनशक्ति र बजेट उपलब्ध गराइएको बताइन् ।
त्यस्तै बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले मुलुकको प्रजातन्त्र राष्ट्रियता सम्र्वद्धनको लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै पहुँचमा नरहेका जनताहरुलाई भौतिक पूर्वाधार, स्वास्थ्य उपचार गर्ने र आर्थिक सम्मृद्धिको लागि प्रदेश सरकारले निष्पक्षताका साथ विशेष कार्यक्रम तर्जुमा गरी लागू गर्न आग्रह गरिन् ।

कार्यक्रममा सो पुस्तकका लेखक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ निवासी अधिकारीले मकवानपुरमा पत्रकारिता क्षेत्रका इतिहासको साथै युवा पुस्तालाई पत्रकारिता क्षेत्रमा संलग्न हुने स्रोतको रुपमा रहेको सो पुस्तक निकै उपयोगी हुने विश्वास व्यक्त गर्दै पत्रकारितामा लाग्ने युवा पुस्ताले आफ्नो जीवनशैलीलाई कठिनाई भोगेर भएपनि पत्रकारिता क्षेत्रको विकासलाई निरन्तरता दिन आग्रह गरे ।

उक्त पुस्तकको समिक्षक रामचन्द्र आचार्य फुर्सती, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल र पुस्तक प्रकाशक संस्था राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष नवराज न्यौपानेले उक्त पुस्तक सार्वजनिकीकरण गरिएबाट मकवानपुरका युवा जगतलाई पत्रकारिता क्षेत्रको माध्ययमबाट मुलुकमा देखिएको भ्रष्टाचार विसंगती र हिंसालाई न्यूनिकरण गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्साल, एकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाई, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौँलागाईलगायत मकवानपुरका संचारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*