उच्च अदालतको इजलाशमा राष्ट्र बैंकको दावीः सेन्चुरी बैंक काण्डको घोटाला छानविन गर्नु पर्दैन

२२ मंसिर २०७८, बुधबार १९:०७

काठमाडौं । विवादास्पद सेन्चुरी बैंकमा भएको एक करोड रुपैयाँको ऋण प्रवाहमा भएको घोटाला काण्डको छानविन गर्नु नपर्ने नेपाल राष्ट्र बैंकले इजलाश समक्ष दावी गरेको छ ।

अन्तरिम आदेशका लागि आज उच्च अदालत पाटनमा भएको बहसमा नेपाल राष्ट्र बैंकले सेन्चुरी बैंकको घोटाला काण्डको बचाउ गर्दै बहस गरेको हो । राष्ट्र बैंकले छानविन नगरेको, ऋणीको खातामा ऋण बापतको रकम प्रवाह नगरी तेस्रो पक्ष सम्झौताको आधारमा अर्कै व्यक्तिको खातामा पठाएर ऋणीसँग दुई वर्षसम्म सावा ब्याज असुल गरेपछि तेस्रो पक्षसँग ऋण बापत प्रवाह भएको रकम फिर्ता माग गरेको विषयमा यतिबेला उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ ।

आजको बहसमा ग्रिनहिल सिटीले आफूले बैंकबाट सम्झौता बमोजिमको रकम प्राप्त नभएकोले घर निर्माण सम्पन्न गर्न नसकेको, घर निर्माण सम्पन्न नभएसम्म खरिदकर्ता ईन्जिनियर तथा सामाजिक अभियान्ता दीपेन्द्र कँडेल ऋणी श्रीमती शान्ता शर्मा सहित बसाई सर्ने वातावरण नभएको बन्दै सेन्चुरी बैंककै कारण समस्या भएको गुनासो इजलाशमा गरेको थियो ।

सेन्चुरी बैंकले भने बिना धितो ऋण प्रवाह भएकोले जग्गा तथा घर ऋणीको नाममा नामसानी नभएकोले धितो बापतको जायजेथा रोक्का राख्न नसकेको अवस्थामा एक करोड रुपैयाँ प्रवाह भएको ऋणमाथि थप ऋण दिन सक्ने अवस्था नभएकोले ३१ लाख रुपैयाँ ऋण नदिएको तथा ऋण बापत एक करोड रुपैयाँ भुक्तानी गरेको दावी गरेका थिए ।

इजलाशमा न्यायाधिशहरुले ऋणी शान्ता शर्माको नाममा एक करोड ऋण प्रवाह भएको प्रमाण के छ भनि सोधेका थिए । सेन्चुरी बैंकले सोको जवाफ दिन सकेनन् ।

अन्तरिम आदेशको लागि आज भएको पेशीमा सामाजिक अभियान्ता समेत रहेका कँडेलले आफूले पुरै रकम नभएर बैंकबाट घर जग्गा किन्न भन्दै एक करोड तीन लाख रुपैयाँ ग्रिन हिल सिटीमा बुझाएको, पछि घरमा सर्ने आशामा दुई वर्षभन्दा बढि समयसम्म एक करोड रुपैयाँको साँवा ब्याज नियमित रुपमा भुक्तानी गर्दै आएको छ । तर, आफूले घर पनि नपाउने, बैंकलाई साँवा ब्याज भुक्तानी गर्नैपर्ने अवस्था आएको, बैंकले ऋण दिँदा झुक्याएको, नेपाल राष्ट्र बैंकलाई दुई दुई पटक नियमन गर, न्याय पाइन भनेर जाँदा कुनै सुनुवाई नभएको भन्दै अदालत आउनु परेको गुनासो गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*