गरिमा विकास बैंकको १ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि निष्काशन, यसरी दिनुस् आवेदन
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज (मंसिर १६) गतेदेखिन ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बैंकले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ६० प्रतिशतले हुन आउने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशतले हुन आउने ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट निष्काशन गरिनेछ ।
आवेदकले उक्त ऋणपत्रमा न्यूतम २५ कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सो ऋणपत्रमा आजदेखि मंसिर २० गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र सम्पूर्ण ऋणपत्रको लागि आवेदन नपरेको खण्डमा पुष १ गतेसम्म अवधि लम्बिनेछ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।