बीमा समितिका अध्यक्षद्वारा सञ्चालक समितिको निर्णय नै कीर्ते !
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिको निर्णय नै कीर्ते गरेको खुलासा भएको छ । बीमकले पुनर्बीमा गर्दा नेपालमै गर्नुपर्ने सम्बन्धी निर्णय गत साताको सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको थियो ।
तर, सो दिनको कार्यसूचिमा त्यस्तो विषयबस्तुमाथि छलफल नै नभएको एक सदस्यले बीमापोष्टलाई जानकारी दिए । अध्यक्ष सिलवालले उपस्थितमा हस्ताक्षर गराएर बैठकमा छलफल नै नभएको विषयबस्तु राखी निर्णय भएको भन्दै कीर्ते निर्णय गरेको दावी समिति स्रोतले गरेको छ । समितिका अनुुसार सिलवालले त्यसको लागि हिमालयन रिसँग करोडौं रुपैयाँ मोलमोलाई गरेका थिए ।
अध्यक्ष सिलवालले बैठकमा छलफल नै नभएको विषयमा निर्णय गरेको भन्दै समाचार बाहिर आएपछि सम्पर्कमा आएका एक सञ्चालकले आफूले उपस्थितमा मात्रै हस्ताक्षर गरेको र निर्णयमा हस्ताक्षर नगरेको दावी गरेका छन् ।
बीमा समिति स्रोतका अनुसार अध्यक्ष सिलवालले अध्यक्ष आफैले निर्णय गरी सञ्चालक समिति समक्ष जानकारी मात्रै गराउने योजनाले निर्णय गरेको खुलेको छ ।
बीमा समितिमा चार जना सञ्चालक र एक जना अध्यक्ष छन् । हालसम्म बीमा समितिले सर्वसम्मत रुपमा मात्रै निर्णय गर्दै आएको छ । तर यस पटक अध्यक्ष सिलवालले दुई जना सञ्चालकमात्रै राखेर अध्यक्षको निर्णायक मत समेत जोडेर निर्णय गराएको खुलेको छ । बीमा समितिको इतिहासमै सबैभन्दा ठूलो घोटाला गराएका सिलवालले बीमा समिति सञ्चालक समितिको हालसम्म सर्वसम्मत रुपमा मात्रै निर्णय गरिने परम्परा समेत उल्लंघन गरेका छन् ।
बीमा समितिको नेपालमा मात्रै पुनर्बीमा गर्न पाइने नियमका कारण हिमालयन रि इन्स्योरेन्स कम्प्नीलाई अर्बौ रुपैयाँ फाइदा हुनेछ । अबैध रुपमा तीन अर्ब रुपैयाँ घुस लिएर बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नै हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमा लाइसेन्स दिएका थिए ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई घुस खाएर लाइसेन्स दिएको विषयमा अख्तियारमा परेको उजुरीमाथि हालसम्म कुनै छानविन भएको छैन । आम सर्वसाधारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै सेटिङमा परेको आरोप लगाउन थालिसक्दा पनि छानविन अघि नबढेको हो ।