तरलता अभाव समस्याको तत्काल निकास निकाल्न राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन

७ मंसिर २०७८, मंगलवार १८:४१

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुमा देखिएको तरलता अभाव सम्बन्धी समस्या तत्काल पत्ता लगाएर अर्थमन्त्रालयसँग समन्वय गरी समाधान गर्न आज राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक समितिको आयोजनामा आज राष्ट्र बैंकमा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिँदै भने, ‘तरलता समस्या बढ्दै गइरहेको छ, यसको समस्या कहाँ छ ? के गनुपर्ने हो, तत्काल समस्याको चुरो कुरा पत्ता लगाएर समाधान गर्नुहोला ।’

माओवादी समर्थित सो कर्मचारी संगठनका अध्यक्ष रेशम बहादुर बल्छौडीको अध्यक्षतामा आयोजित वित्तिय क्षेत्रको समसायिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा अर्थमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थामा जम्मा भएको रकम जनताको पैसा भएकोले त्यसको पूर्ण सुरक्षा गर्ने जिम्मेवारी राष्ट्र बैंकको भएको बताएका छन् ।

अर्थमन्त्री शर्माले केन्द्रीय बैंकको भूमिका रही राष्ट्रको ढुकुटीको जिम्मेवारी लिएको संस्था भएकोले राष्ट्र बैंक थप शसक्त, बलियो र प्रभावकारी हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले नियमनलाई थप प्रभावकारी बनाउन समेत निर्देशन दिएका छन् । उनले संविधानमै मुलुक समाजवाद उन्मुख अर्थतन्त्रात्मक देश भन्ने उल्लेख भएकोले त्यसको लागि काम गर्न समेत निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले राष्ट्र बैंकले अर्थमन्त्रालयलाई रणनीतिक रुपमा सहयाग गर्न समेत आह्वान गरेका छन् ।

कार्यक्रममा अर्थमन्त्री शर्माले गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको जानकारी दिएका छन् । चर्को तरलता अभाव बढ्दै गएपछि सरकारले गैर आवासिय नेपालीहरुलाई नेपालमा डलरमा खाता खोल्न दिने सम्बन्धमा रणनीति बनाएका हुन् । अर्थमन्त्री शर्माले भने ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ’, मन्त्री शर्माले भने, ‘उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे हाम्रो छफलफल भइरहेको छ ।’

सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिए । यसैबीच मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताएका छन् ।

मंगलबार नै राष्ट्र बैंकको कामकारबाही बारे सङ्क्षिप्त जानकारी लिएका छन् । अर्थमन्त्री शर्माले गभर्नर अधिकारीसँग छलफल गर्दै हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्न कडा निर्देशन दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*