पशु र कृषि बीमा गर्नै झन्झट, दावी भुक्तानी पाउनै झनै कठिनः बन्दीपुरका स्थानीयले यसरी पोखे गुनासो

६ मंसिर २०७८, सोमबार ०९:१८

काठमाडौं । ‘हामीले पटक पटक बीमा कम्पनीलाई पशु तथा कृषि बीमाको लागि आग्रह गर्दा पनि बीमा गर्नै मान्दैनन् । बल्लतल्ल बीमा गर्छन्, पशु मरेको खण्डमा पैसा लिनको लागि युद्ध जिते झै गर्नुपर्दछ’ हिजो तनहुँको बन्दीपुर गाउँपालिकामा बीमा समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्थानीय किसान मन बहादुर गुरुङले आक्रोस र पीडा भावमा गुनासो पोखे । उनी मात्रै होइनन् । अन्य सहभागी बक्ताहरुले पनि गुनासो गरेका छन् । अर्का सहभागीको गुनासो थियो, ‘जीवन बीमाको लागि बीमा कम्पनीहरु घर घरमा पुग्ने, तर भैसी, बाख्रा, गाईको बीमा गर्छु भन्दा किन पाइदैन ?’

स्थानीय तहसँग बीमा समिति नामक राष्ट्रिय अभियानमा रहेको बीमा समितिले हिजो तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि तथा स्थानीयबासीसँग अन्तरक्रिया कार्यक्रममा स्थानीयबासी र जनप्रतिनिधिहरुले बीमा कम्पनीहरुले असाध्यै दुःख दिने गरेको गुनासो गरेका छन् । कार्यक्रममा सहभागी बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले समेत बीमा न्यून आय भएका आम जनताले लाभ लिन नपाएको, पहुँचवाला र हुने खानेले मात्रै लाभ लिएको आरोप लगाए । गाउँपालिकाका अध्यक्ष थापाले बीमा समिति समक्ष न्यून आय भएका किसानहरुलाई पनि बीमाको पहुँचमा पुर्याउने अभियानको नेतृत्व गर्न आग्रह गरेका छन् ।

बीमा समितिकी निर्देशक पुजन ढुंगेल अधिकारीको नेतृत्वमा समितिकै उप निर्देशक निर्मल अधिकारी तथा सहायक निर्देशक पुष्पा कुँवरसहितको टोलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्थानीय किसानहरुले निकै दर्दनाक चित्र प्रस्तुत गर्दै कृषि र पशुबीमा निकै कठिन भएको गुनासो गरेपछि पशु तथा कृषि बीमा गर्ने जिम्मेवारी पाएका बीमा कम्पनीमाथि गम्भिर प्रश्न चिन्ह उठेको छ ।

सहभागीहरुले मानिसको बीमा गर्न घर घरमै आउने, पशु र कृषि बीमाको धेरै पटक अनुरोध गर्दा पनि नमान्ने अवस्था रहेको गुनासो गरेका छन् । कार्यक्रममा उपमेयर करुणा गुरुङले समेत साना तिना, किसानहरुको महिनौं लाग्ने, कागजातको नपुगेको गुनासो आउने गरेको बताईन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापाले न्यून आय भएका गरिब, एक–दुई वटा गाई भैसी पाल्ने किसानको घर घरमा पुर्याउन जरुरी भएकोले थप जनचेतना फैलाउन आवश्यक रहेको तथा बीमा कम्पनीहरुलाई थप जिम्मेवार बनाउन आवश्यक भएको बताए ।
कार्यक्रममा  गाउँपालिकाका उपाध्यक्ष गुरुङले चेतनाको कमी भएको बताउँदै बीमा सचेतना अझै बढाउन जरुरी रहेको बताईन् । गाउँपालिकाका उपाध्यक्ष गुरुङले बीमा गर्दा बीमितले लिन पाउने अवस्था र बीमाको लाभहरुबारे आम जनतामा फैलाउन वडा तहसम्म जनचेतना फैलाउन आवश्यक रहेको बताईन । साथै अभियान लिएर बन्दीपुर  गाउँपालिकामा आएकोमा हार्दिक आभार व्यक्त गरिन् । बीमा समितिले गरेको अन्तरक्रिया कार्यक्रमकै कारण किसानहरुको समस्या उजागर भएको भन्दै खुशी व्यक्त गरिन् ।

कार्यक्रममा बीमा समितिकी निर्देशक पुजन ढुंगेल अधिकारीले बीमा नगर्ने समस्याका बारेमा जिम्मेवारी कम्पनीहरुलाई आवश्यक निर्देशन दिईने बताउँदै उपस्थिति कम्पनीका प्रतिनिधिहरुलाई आम जनताको गुनासो नआउने गरी कृषि बीमा तथा पशु बीमामा केन्द्रीत हुन निर्देशन दिएकी छिन् । साथैै उनले बीमा दावी भुक्तानी नपाउने जो सुकैले बीमा समितिमा लिखित, मौखिक, टेलिफोनबाटै समेत उजुरी दिन सकिने व्यवस्था रहेको भन्दै समस्याहरु देखिएमा बीमा समितिमा पठाउन जनप्रतिनिधिहरुलार्ई आग्रह समेत गरेकी छिन् ।

एक सय भन्दा स्थानीयबासी,  जनप्रतिनिधिहरु सहभागी कार्यक्रममा निकै प्रभावकारी भएको बीमा समितिका सूचना अधिकारी तथा उप निर्देशक निर्मल अधिकारीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*