१८ जीवन बीमा कम्पनीको खुद मुनाफा १४ प्रतिशतले घट्यो, फ्युचर बोनसले सबै कम्पनीको नाफा प्रभावित

३ मंसिर २०७८, शुक्रबार १५:४५

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा नेपालमा दर्ता भई कारोबार गर्दै आएका १८ जीवन बीमा कम्पनीहरुको खुद मुनाफा १४ प्रतिशतले घटेको छ । नेपालमा दर्ता भई सञ्चालित १८ जीवन बीमा कम्पनीहरुले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन गरेका छन् । अमेरिकी बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाईफले भने वित्तिय विवरण प्रकाशन गरेको छैन ।

जीवन बीमा कम्पनीहरुको मुनाफा वित्तिय विवरणमा प्रकाशित भएको विवरण अन्तिम हुँदैन । जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनको क्रममा मुनाफा हेरफेर हुनेछ । यद्यपि जीवन बीमा कम्पनीहरुको वित्तिय विवरणमा आधारित मुनाफाहरुको अवस्थाको बारेमा तथ्याङ्कलाई बीमापोष्टले प्रस्तुत गरेको हो ।

 

१८ कम्पनीहरुले गत आर्थिक बर्षको १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए भने यस आर्थिक बर्षमा १४ प्रतिशतले घटेर १ अर्ब १ करोड रुपैयाँ खुद मुनाफामा सीमित भएको छ ।
जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चार वटा कम्पनीहरुको खुद नाफामा गिरावट आएको छ । चालु आवको असोज मसान्तमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी), गुँरास लाइफ र नेशनल लाइफको नाफा घटेको हो । बीमा समितिले यसैवर्ष देखि फ्युचर बोनसका लागि २० प्रतिशत अनिवार्य प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्था लागू गर्न नमानेका केही कम्पनीहरुको मुनाफा प्रभावित नभएको देखिएको छ ।

नेपाल लाइफको नाफा सर्वाधिक अंकले घटेको छ । कम्पनीको मुनाफा गत आर्थिक बर्षको तुलनामा ९६ प्रतिशतले घटेको छ । चालु आवको आवको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ९६.९३ प्रतिशतले घटेर ७० लाख ३३ हजारमा सीमित भएको छ । गत आवको यसै अवधीमा कम्पनीको खुद नाफा २२ करोड ९० लाख रुपैयाँ थियो ।
चालु आवको पहिलो त्रैमासको अवधिमा गँरास लाइफको नाफा ४ दशमलव १५ प्रतिशतले घटेर ४० करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ । कम्पनीले गत आवको यसै अवधिमा ४ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, नेशनल लाइफको नाफा २६ प्रतिशतले घटेर ८ करोड ६७ लाख रुपैयाँ र एलआईसीको नाफा ४४.९० प्रतिशतले घटेर ७ करोड ४५ लाखमा सीमित भएको छ ।फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाका कारणले कम्पनीहरुको नाफामा प्रभाव पारेको हुनसक्ने नेपाल जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बीमापोष्टलाई बताए ।बीमा समितिले उधारो बीमा गर्न नपाउने, सरेण्डर गर्न बीमालेख जारी भएको मितिले तीन वर्ष पुग्नुपर्ने तथा बीमितले बीमालेख धितोमा कर्जा लिन तीन वर्ष कुर्नु भएको कारणले कम्पनीहरुको विजनेश वास्तविक हुँदा नाफा पनि वास्तविक तहमा झरेकोले पनि बीमा कम्पनीका अधिकारीहरु बताँउछन्।

पहिलो त्रैमासको अवधिसम्ममा प्राईम लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १२ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।दोस्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ११ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार एशियन लाइफले ९ करोड ६२ लाख रुपैयाँ, ज्योति लाइफले ९ करोड २२ लाख रुपैयाँ, नेशनल लाइफले ८ करोड ६७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७ करोड ४५ लाख रुपैयाँ, सिटिजन लाइफले ६ करोड २२ लाख रुपैयाँ, सन नेपाल लाइफले ५ करोड २ लाख रुपैयाँ, सानिमा लाइफले ४ करोड ३८ लाख रुपैयाँ र आइएमई लाइफले ४ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, रिलायन्स लाइफले ४ करोड १५ लाख रुपैयाँ, गुराँस लाइफले ४ करोड ९ लाख रुपैयाँ, यूनियन लाइफले ३ करोड ४४ लाख रुपैयाँ, प्रभु लाइफले ३ करोड ३१ लाख रुपैयाँ, एलआईसी (नेपाल)ले ३ करोड १९ लाख रुपैयाँ, महालक्ष्मी लाइफले २ करोड ५४ लाख रुपैयाँ र नेपाल लाइफको सबैभन्दा कम ७० लाख ३३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*