पहिलो त्रैमासमा ज्योति लाइफको तीव्र प्रगति, जीवन बीमा कोष दोब्बर, तथ्याङ्कमा यस्तो देखियो कम्पनी

१ मंसिर २०७८, बुधबार ०७:०३

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो तीन महिनामा तीव्र प्रगतिसाथ बीमा व्यवसाय गरेको छ । कम्पनीले आज प्रकाशन गरेको प्रथम त्रैमासिकक वित्तिय विवरण अनुसार जीवन बीमा कोष दोब्बरभन्दा बढिले बृद्धि भएको छ भने जीवन बीमा शुल्क आम्दानी उल्लेख्य बृद्धि गर्न सफल भएको छ ।

गत आवको पहिलो तीन महिनाको तुलनामा कम्पनीको जीवन बीमा कोष १००.२५ प्रतिशतले बृद्धि भएको छ । गत आवको समीक्षा अवधीमा दुई अर्ब २५ करोड ९७ लाख १६ हजार १८९ रुपैयाँको जीवन बीमा कोष रहेकोमा चालु आवको पहिलो तीन महिनासम्म आईपुग्दा चार अर्ब ५४ करोड ७६ लाख ७६ हजार २५२ रुपैयाँको विशाल जीवन बीमा कोष खडा गर्न सफल भएको छ ।

कम्पनीको जगेडा कोष ४४ प्रतिशतले बृद्धि भई ६६ करोड १० लाख २४ हजार ४३५ रुपैयाँ संचिती गर्न सफल भएको छ । त्यस्तै महाविपत्ति कोष ५३ प्रतिशतले बढाएर कूल कोषको आकार पाँच अर्ब २८ करोड ७१ लाख २८ हजार ९३७ रुपैयाँ पुर्याउन सफल भएको छ । गत आवको तुलनामा यस आवको समीक्षा अवधीमा समग्र कोषको आकार ९१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषसहितका कोषहरुको निकै महत्वपूर्ण भूमिका हुन्छ । जीवन बीमा कोषको आकार बढ्दै जाँदा बीमितले पाउने बोनस बृद्धि हुने तथा कम्पनीको बलियोपनाको मापन गर्ने आधार समेत यही कोष हुने गर्दछ ।

ज्योति लाइफको खुद बीमा शुल्क आम्दानी ५०.४२ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो तीन महिनामा ५२ करोड ५३ लाख ३३ हजार ९२४ रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको तीन महिनामा ७९ करोड एक लाख ९३ हजार २१ रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीको आम्दानीमा समेत करिब शत प्रतिशतको बृद्धि हासिल गरेको छ । गत आवमा आठ करोड ४७ लाख ५८ हजार ५०८ हजार रुपैयाँ खुद बीमाा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा १६ करोड ८७ लाख ४१ हजार ४५ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अन्य आय बृद्धि हुनु कम्पनीको व्यवस्थापनको सफलता मानिन्छ ।

त्यस्तै कम्पनीको व्यवस्थापन खर्च ८१.७९ प्रतिशतले बृद्धि भएको छ । गत आवमा पाँच करोड ८१ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको तीन महिनामा १० करोड ५७ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

कम्पनीले अभिकर्तालाई वितरण गर्ने कमिशन २१ प्रतिशतले बृद्धि भएको छ । गत आवमा नौ करोड ६३ लाख रुपैयाँ कमिशन वितरण गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा ११ करोड ७४ लाख रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई कमिशन बापत वितरण गरेको छ ।

कम्पनीको खुद नाफा २७.७७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा सात करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको पहिलो तीन महिनामा नौ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीमा हालसम्म कायम रहेको जीवन बीमा पोलिसीको संख्या २४ प्रतिशतले बृद्धि गरी बीमाको पहुँच बृद्धि गर्न कम्पनी सफल भएको छ ।

चालु आवको पहिलो तीन महिनामा कम्पनीको प्रतिशेयर आम्दानी १६.०४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.५०, प्रतिशेयर नेटवर्थ १३३.६१ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३५६.१० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*