नेपाल वायु सेवा सञ्चालक संघद्वारा हवाई भाडा बृद्धि गर्ने निर्णय

२८ कार्तिक २०७८, आईतवार २२:४०

काठमाडौं । नेपालका सबै हवाई कम्पनीहरुको छाता संगठन वायु सेवा सञ्चालक संघले भोलिदेखि लागू हुने गरी हवाई भाडा बृद्धि गर्ने निर्णय गरेको छ ।

नेपाल आयल निगमले गत बुधबार हवाई इन्धनमा प्रति लिटर ५ रुपियाँ बढाएर १ सय १ रुपियाँ पु¥याएपछि संघले पछिल्लो भाडा दरमा नयाँ फ्युल सरचार्ज थप गरी आजदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरेको हो । संघले बृद्धि गरेको भाडादर नेपाल नागरिक उड्डयन प्राधिरकणले आजै स्वीकृत गरेको जनाइएको छ । उक्त भाडादर भोलिबाट लागू हुनेछ ।

हवाई कम्पनीहरुले फ्युल सरचार्जमा गन्तव्य अनुसार न्यूनतम ४५ रुपियाँदेखि अधिकतम २ सय २० रुपियाँ सम्म वृद्धि गर्ने निर्णय गरेका छन्् । यात्राको समय र दूरीको आधारमा हवाई टिकटमा सो सरचार्ज रकम जोडिनेछ । सबैभन्दा धेरै उडान हुने काठमाडौं–विराटनगर रुटमा १२० रुपैयाँ, काठमाडौं–पोखरा रुटमा ८० रुपैयाँ, काठमाडौं–भैरहवा रुटमा १०५ रुपैयाँ, काठमाडौं नेपालगन्ज रुटमा १६० रुपैयाँ र धनगढी काठमाडौं रुटमा २२० रुपैयाँ फ्युल सरचार्ज बृद्धि गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, माउन्टेन फ्लाईटमा १७० रुपैयाँ र पोखरा विराटनगर रुटमा १८० रुपैयाँ भाडा बृद्धि गर्ने निर्णय गरिएको छ । साथै संघले निगमले इन्धनको मूल्य घटाएको अवस्थामा हवाई भाडा घट्ने समेत जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*