बीमा समितिद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धमा नयाँ निर्देशन, माघ १ गतेदेखि लागू हुँदैछ नयाँ नियम

२५ कार्तिक २०७८, बिहीबार १६:३२

काठमाडौं । बीमा समितिले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको बैदेशिक रोजगारी म्यादी जीवन बीमा सम्बन्धमा यही कार्तिक १७ गते नयाँ निर्देशन जारी गरेको छ । नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई अनिवार्य पालना गर्नुपर्ने भन्दै जारी नयाँ निर्देशिका अनुसार अब बीमा पुल भन्दा बाहिर कुनै पनि कम्पनी बस्न पाउने छैन ।

पुलको व्यवस्थापन हाल गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीले नै गर्ने जनाइएको छ । कूल बीमा शुल्क मध्ये २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीलाई दिने, बाँकी रहेको बीमा शुल्क मध्ये यसअघि पुलको काममा छनोट भई काम नगरेका कम्पनी मध्येबाट चार वटा कम्पनी छनौट गरी उल्लेखित कम्पनीहरुले व्यवस्थापन खर्च बापत ५ प्रतिशत राख्न पाउने र उल्लेखित चार वटा कम्पनीलाई १५ प्रतिशत आफ्नो हिस्सा कायम गरी बाँकी रहेको बीमा शुल्क सबै कम्पनीलाई दामाशाहीले वितरण गर्ने व्यवस्था मिलाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले दिएको लिखित निर्देशनमा उल्लेख छ ।

नियामक निकाय बीमा समिलिते पुल मार्फत सञ्चालन गर्दै आएको बैदेशिक रोजगार म्यादी बीमा सञ्चालन सम्बन्धमा जीवन बीमा कम्पनीहरुका बीचमा समन्वयकारी भूमिका निर्वाह गर्न तथा थप स्पष्ट हुन बीमा समितिले लिखित निर्देशन दिएको हो ।

बीमा समितिले प्रत्येक वर्षको माघ १ गतेदेखि बीमा पुलमा नयाँ कम्पनी छनौट गरी आर्थिक वर्ष अनुसार झै हिसाब किताब फरफारक गर्नुपर्ने व्यवस्था गरेको छ । बीमा समितिको उक्त निर्देशन अनुसार कुनै पनि कम्पनी आगामी माघ १ गतेबाट पुल बाहिर बस्न पाउने छैनन् । यसअघि पुल बाहिर बस्नै आएको मेट लाईफ समेत अब पुलमा आबद्ध हुनुपर्ने भएको छ । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई अनिवार्य पालना गर्नु गराउनु भन्दै निर्देशन दिएकोले जीवन बीमा कम्पनीहरुका लागि उक्त निर्देशन कानुन सरह लागू हुनेछ ।

बीमा समितिले गत वर्षको माघ १ गतेदेखि नै यस्तो नियम सुरु भएको जनाएको छ । सो निर्देशिका अनुसार गत वर्ष छनौट भएका कम्पनीहरुको म्याद आगामी पुसमा सकिनेछ र आगामी माघ १ गतेदेखि नयाँ कम्पनी छनौट गरी म्यादी जीवन बीमा गराउनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*