२४ बैंकले आजै मात्र राष्ट्र बैंकबाट निकाले ५१ अर्ब ऋण, निक्षेपको हाहाकार हुँदा बैंकहरु तनावमा

२३ कार्तिक २०७८, मंगलवार २१:४४

काठमाडौं । पीडादायी रुपमा निक्षेप अभाव भएपछि नेपाली बैंकिङ सिष्टममा हाहाकार मच्चिएको छ । आजै मात्र नेपालमा सञ्चालित बैंकहरुले नेपाल राष्ट्र बैंकबाट ५१ अर्ब ८२ करोड रुपैयाँ २४ वटा बैंकहरुले सापटी लिएका छन् । केन्द्रीय बैंकले तोकेको १० प्रतिशत सिसिडी रेसियो कायम गर्न र सर्वसाधारणको निक्षेप फिर्ता दिन बैंकहरुले केन्द्रीय बैंकबाट एकै दिन आधा खर्बभन्दा बढि रकम सापटी लिएका हुन् ।

राष्ट्र बैंकका अनुसार मंगलबार अर्थात छठ पर्वको अघिल्लो दिनमा बैंकहरुमा तरलता हाहाकार मच्चिएको थियो । बैंकहरु निक्षेपका लागि सबै बैंकहरु चहार्दा समेत फेला नपरेपछि केन्द्रीय बैंक समक्ष पुगेका छन् । आजै मात्र नेपाल राष्ट्र बैंकबाट ५१ अर्ब ८२ करोड रुपैयाँ स्थायी तरलता सुविधा बापत रकम लिएका छन् । सो रकम २४ वटा बैंक तथा वित्तीय संस्थाले यो पैसा उठाएका हुन् ।

चर्को तरलता अभावपछि स्टाण्डर्ड चार्टर्ड बैंकले पनि पहिलो पटक स्थायी तरलता सुविधा अन्तर्गत केन्द्रीय बैंकबाट रकम सापटी लिएको छ । तरलतामा अन्य बैंक भन्दा स्टाण्डर्ड चार्टर्ड बैंक निकै अगाडि रहे पनि आज उक्त बैंक समेत केन्द्रीय बैंकमा लाइन बस्न पुगेको थियो ।

बजारमा तरलताको चर्को अभावसँगै अब शेयर बजारमा तनाव झनै थपिएको छ । गभर्नरसहित उच्च पदस्थ व्यक्तिहरुले बैंकहरुलाई ऋण प्रवाहमा कडाई गर्न आग्रह गर्न थालेपछि शेयर बजारमा तनाव बढ्न थालेका छ । आजै मात्रै झण्डै ८० अंकको नेप्सेमा पहिरो गएकोमा बैंकहरुमा तरलता हाहाकारसँगै थप तनाव बढ्ने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*