मेगा बैंकले कास्कीका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

१६ कार्तिक २०७८, मंगलवार १२:२६

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कास्कीका महिला उद्यमीलाई सहुलियपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रबर्द्धन गर्ने उद्देश्यले बैंक र महिला उद्यमी संघ नेपाल कास्कीबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् मेगा बैंकले संघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण छिटो छरितो ढंगले कर्जा प्रदान गरिने बताइन् । महिला उद्यमीहरुलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने उनले बताईन् ।

साथै संघकी अध्यक्ष रेग्मीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताइन् । मेगा बैंकले कर्जाका साथ साथै महिला उद्यमीहरुलाई वित्तीय साक्षरता पनि प्रदान गर्दै आईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*