पुर्व मन्त्रीहरुसँग युवा तथा खेलकुद मन्त्रीको छलफल खेलाडी तथा विकासका लागि बजेट बढाउन सुझाव

खेलकुद मन्त्रालय सधैं उत्पिडनमा परेको गुनासो
१५ कार्तिक २०७८, सोमबार १७:१०

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिनुभएको छ । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनकालागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” आयोजना गरीएको थियो ।

उक्त कार्यक्रममा सहभागी पुर्व मन्त्रीहरुले मन्त्रालयबाट राम्रो संस्कारको सुरुवात भएको धारणा राख्नुभयोे । युवा तथा खेलकुद पुर्व सह–मन्त्री चन्द्रा चौधरीले मन्त्रालयले युवा लक्षित कार्यक्रमहरुमा विशेष जोड दिनुपर्ने बताउनुभयो । राज्यका अन्य निकायले समेत युवा लक्षित कार्यक्रम गर्दै आएको भएपनि ति सबै कार्यक्रमहरुलाई मन्त्रालयकै मातहतमा ल्याउन उहाँले सुझाव दिनुभयो । त्यसैगरी खेलाडी तथा खेल क्षेत्रको समग्र विकासकालागि मन्त्रालयले अत्याधिक मात्रामा बजेटको ब्यवस्थापन गर्नुपर्ने र खेलाडीहरुको जिवनस्तर उकास्ने खालका गतिविधिहरुमा जोड दिनुपर्ने चौधरीको भनाई थियो ।

पुर्व राज्यमन्त्री गोपी अछामीले पहिलो पटक पुर्व मन्त्रीहरुसँग सुझाव संकलन कार्यक्रम आयोजना गरेर मन्त्रालयले राम्रो अभ्यासको सुरुवात गरेको बताउनुभयो । जनशक्ति, पुर्वाधार र बजेटको स्थिती हेर्दा खेलकुद मन्त्रालय सधैं उत्पिडनमा परेको आभाष हुने बताउँदै अछामीले मन्त्रालयलाई आर्थिक रुपमा सवल बनाउनुपर्नेमा जोड दिनुभयो । साथै खेलकुद क्षेत्रमा सक्रिय बिचौलीयाहरुलाई निरुत्साहित गर्दै लक्षित वर्गलाई समेट्ने खालका प्रभावकारी गतिविधिहरुलाई ब्यापकता दिनुपर्ने बताउँदै अछामीले खेलाडीहरुलाई नियमित रुपमा अभ्यास तथा तालिमको ब्यवस्था मिलाउन सुझाव दिनुभयो ।

उहाँले केन्द्र, प्रदेश र स्थानिय स्तरमा आयोजना गरीने खेलकुद प्रतियोगिताहरु खेल संरचाना निर्माणमा सहयोग पुग्ने भएकाले त्यस प्रकारका गतिविधिहरुलाई निरन्तता दिनुपर्ने बताउनुभयो ।छलफल कार्यक्रममा बोल्दै पुर्व मन्त्री जगत बहादुर विश्वकर्माले धेरै लामो प्रयासपछि निर्माण भएको “खेलकुद विकास ऐन” कार्यान्वयन प्रक्रियामा लैजान आग्रह गर्नुभयो । बाहिरी रुपमा ऐन प्रति विभिन्न खालका टिकाटिप्पणी हुने गरेको भएपनि वर्तमान खेलकुद क्षेत्रको अवस्थालाई व्यवस्थापन गर्ने सामर्थ खेल विकास ऐनले राख्ने कुरामा आफु ढुक्क रहेको विश्वकर्माले बताउनुभयो ।

अघिल्लो सरकारले राम्रा खालका योजनाहरु अगाडी बढाएको जिकिर गर्दै विश्वकर्माले विगतमा सुरु भएका खेल पुर्वाधारहरुको निर्माण कार्य सम्पन्न गर्ने दायित्व मन्त्रालयको काँधमा रहेको बताउनुभयो । उहाँले ७ वटै प्रदेशमा निर्माण गर्ने भनिएका अत्याधुनिक खालका प्रादेशिक रंगशाला निर्माण कार्यलाई पूर्णता दिनसके स्थानियस्तरबाट ठुलो मात्रामा खेलाडीहरु उत्पादन हुनुका साथै खेल पर्यटनमा समेत यसले टेवा पुर्याउने धारणा राख्नुभयो ।

खेल पर्यटनका हिसावले नेपाल संसारकै उत्कृष्ट देश भएको उल्लेख गर्दै विश्वकर्माले भन्नुभयो “नेपाल मात्र एक यस्तो देश हो, जहाँ संसारमा खेलीने सबै प्रकारका खेलहरु खेल्न सक्ने खालको भौगोलिक बनावट छ ।”खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा स्वरोजगार कोष विचौलीयाहरुको कमाई खाने भाँडो बनेको प्रति दुख ब्यक्त गर्दैै पुर्व मन्त्री विश्वकर्माले युवा स्वरोजगारको पैसा लक्षित वर्गसम्म पुर्याउन नयाँ खालको निति बनाउनुपर्नेमा जोड दिनुभयो ।

छलफल कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) सबै पक्षको सुझावका आधारमा नयाँ योजनाहरु तर्जुमा गरीने बताउनुभयो । विगतमा भएका राम्रा कामको निरन्तरता र प्रभावकारी नयाँ कार्यको थालनिकालागि आफु निरन्तर छलफलमै रहेको बताउँदै मन्त्री अथकले मन्त्रालयको स्तर उठाउने कार्यमा आफु दिनरात लागिपरेको बताउनुभयो । छलफलबाट महत्वपूर्ण सुझाव संकलन भएको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईहरुबाट प्राप्त महत्वपूर्ण सुझाव, सल्लाहलाई मैले मार्गनिर्देशका रुपमा ग्रहण गर्नेछु ।”

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव कमल प्रसाद पोखरेलले मन्त्रालयको जिम्मेवारी र हालसम्म भएगरेका गतिविधिहरुका बारेमा जानकारी दिनुभएको थियो । त्यसक्रममा मन्त्री अथकले पुर्व मन्त्रीहरुलाई खादा ओढाएर सम्मान समेत गर्नुभएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*