अध्ययन कार्यदलको निष्कर्षः लघुबीमाको पहुँच बृद्धिका तीन विकल्प
काठमाडौं । बीमा समितिले गरेको लघुबीमा सम्बन्धी एक अध्ययनले लघुबीमाको पहुँच बृद्धिका तीन वटा विकल्प सुझाएको छ । बीमा समितिले गत ११ गते बीमा समितिले गठन गरेको कार्यदलले चार महिना लगाएर सुक्ष्म अध्ययन गरी सोही अध्ययनको निष्कर्ष बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पेश गरेको छ ।
बीमा समितिले गत असार ११ गते निर्देशक सुशिलदेव सुवेदीको नेतृत्वमा उपनिर्देशक पुनम ज्ञवाली, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषक पौडेल तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ चंकी क्षेत्री सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो । सो कार्यदलले गत सोमबार बीमा समितिका अध्यक्ष सूर्य सिलवाललाई बुझाएको अध्ययन प्रतिवेदनमा देशमा लघुबीमाको अवस्था निकै तल रहेकोले पहुँच बृद्धिका लागि बीमा समिति सञ्चालक समिति र सरकारलाई मुख्य तीन वटा काम गर्न सुझाव दिएको छ ।
अध्ययन प्रतिवेदनका अनुसार लघुबीमाको पहुँच बृद्धिका लागि नयाँ लघुबीमा कम्पनी छुट्टै दर्ता गरेर, हाल सञ्चालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुबाट तथा अन्य उपयुक्त विकल्पबाट गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन पेश गरेको हो ।
उता, कार्यदलले अध्ययन प्रतिवेदन बुझाएसँगै शेयर माफियाहरुलाई नयाँ लाइसेन्स वितरण गर्ने चलखेलमा लागेकाहरु भने नयाँ पुनर्बीमाको लाइसेन्स वितरण सुरु भएको भन्दै बजारमा रकम उठाउन थालेको बुझिएको छ ।
कार्यदलका अनुसार विशेष प्रकारको सिफारिस गरिएको छैन । कार्यदलले नयाँ कम्पनी दर्ता गरेर लघुबीमाको पहुँच बृद्धि गर्ने वा पुरानै कम्पनीहरुमार्फत लघुबीमाको पहुँच बृद्धि गर्ने भन्ने निर्णय बीमा समिति सञ्चालक समितिले निर्णय गर्ने गरी निष्कर्ष निकालिएको छ ।
उता, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको बताउँदै सो प्रतिवेदन बीमा समितिको सञ्चालक समितिका पेश गरेर छलफल गरी निर्णय हुने जानकारी दिए । उनले भने, ‘प्रतिवेदन बीमा समितिको सञ्चालक समिति समक्ष पेश भई छलफल हुन्छ, जे निर्णय हुनुपर्ने हो, त्यही हुन्छ ।’