कोरोना बीमाको दावी भुक्तानीको विकल्पबारे बीमा समितिमा छलफल, मन्त्रालयमै पुनः छलफल गर्ने तयारी

२० आश्विन २०७८, बुधबार २०:२४

काठमाडौं । कोरोना बीमाको बक्यौता दावी भुक्तानीको लागि स्रोत व्यवस्थापन सम्बन्धमा बीमा समितिले सबै निर्जिवन बीमा कम्पनीका सिईओहरुसँग छलफल गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीका सिईओ तथा पुनर्बीमा कम्पनीका सिइओसँग छलफल गरेका हुन् ।

बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीको लागि आवश्यक नौ अर्बभन्दा बढि रकम जोहो गर्ने उपायको सम्बन्धमा छलफल गरेको एक बीमा कम्पनीका सिईओले जानकारी दिए । आजको छलफलमा बण्ड जारी गरेर कोरोना बीमाको दावी भुक्तानी गर्ने, आयकर छुट दिएर कोरोना बीमाको दावी भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्ने लगायतका विकल्पहरुमा छलफल भएपछि उपयुक्त विकल्पहरु ठोस गर्न नसकेपछि पुनः अर्थमन्त्रालयसँग छलफल गर्ने सहमति भएको जनाइएको छ ।

बीमा समितिले अर्थमन्त्रालयमा पुनः छलफल गरेर कोरोना बीमाको बक्यौता भुक्तानीको विकल्पबारे निर्णय गर्ने जनाइएको छ । कोरोना बीमा मापदण्ड अनुसार सरकारको भागमा परेको साढे तीन अर्बभन्दा बढि दायित्व सरकारले स्वीकार नगरेका कारण करिब ९५ हजार कोरोना बीमितले नौ अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी पाउन सकेका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*