हिमालयन रि इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा कात्तिक १२ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले पहिलो साधारण सभा आह्वान गरेको छ । कम्पनीले कात्तिक १२ गते, होटल अलफ्ट, ठमेलमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा सभा अपरान्ह ५ बजे शुरु हुनेछ ।भदौ ३० गते बसेको कम्पनी संचालक समितिको बैठकले प्रथम वार्षिक साधारणको मिति घोषणा गरेको हो । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ। कम्पनीले आइपीओ निष्काशनको प्रस्ताव राखेपनि कम्पनी नियम बमोजिम ३ आर्थिक बर्षको मुनाफामा सरिक भएपश्चात् मात्र सर्वसाधारणलाई लागि आइपीओ जारी गर्न पाउनेछन् ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने बिषयमा छलफल हुने भएको छ।
साथै सभामा आ.व २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव रहेको छ ।
त्यस्तै, उक्त सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अधिकार प्रत्योजन गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव समेत पेश गर्ने भएको छ।