न्यादी हाईड्रोपावरको आईपिओमो आवेदन दिन भाेलि अन्तिम दिन, ह्वात्तै घट्यो आवेदन दिनेको संख्या

१८ आश्विन २०७८, सोमबार ०६:५६

कामठाडौं । न्यादी हाईड्रोपावरले निष्काशन गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपिओमा आवेदन दिने भाेलि अन्तिम दिन हो । कम्पनीले यही असोज १५ गतेदेखि १९ गतेसम्म आवेदन दिन पाउने गरी आईपिओ निष्काशन गरेको थियो ।

न्यादी हाईड्रोपावरको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्ममा १३ लाख ७९ हजार आवेदनबाट १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताको लागि आवदेन परेको छ । सो तथ्याङ््क अनुसार न्यादीको आईपिओमा आवेदन दिनेको संख्या ह्वात्तै घटेको छ । दशैं र आईपिओ पर्नै छोडेपछि सर्वसाधारणले आईपिओ भर्न कम चासो दिन थालेका हुन् ।

कम्पनीले निष्काशनमा ल्याएको कुल २२ लाख ५० हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले पाउने छन् । सो मध्ये अत्याधिक मात्रामा आवेदन परेकोले अब गोलाप्रथाबाट बाँडफाँड हुँदा जम्मा दुई लाख नौ हजार २५० जनाले १० कित्ताको दरले शेयर पाउनेछन् भने बाँकीको हात खाली हुनेछ ।

सो आईपिओमा आवेदन भर्न चाहने लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आज साँझ बैंकिङ समय तथा अपरान्ह ५ बजेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन भर्न पाइनेछ । त्यसको लागि आफूले लिन कबूल गरेको रकम बैंकमा मौज्दात भने हुनुपर्नेछ ।

भुलसुधारः यसअघि समाचारमा आज अन्तिम दिन भनि उल्लेेख भएकाेमा भुल सुधार गरिएकाे छ । यसबाट पाठक बर्गमा पर्न गएकाे असुविधाप्रति क्षमायाचना गर्दछाैं।

One thought on “न्यादी हाईड्रोपावरको आईपिओमो आवेदन दिन भाेलि अन्तिम दिन, ह्वात्तै घट्यो आवेदन दिनेको संख्या

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*