१४ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन बीमा समितिको निर्देशन, ७ दिनभित्र कार्ययोजना पेश गर्न पत्राचार

बिशाल ग्रुप, आईएमई ग्रुुप र अग्रवाल ग्रुपको सबैभन्दा धेरै क्रस होल्डिङ
१४ आश्विन २०७८, बिहीबार २३:००

काठमाडौं । नियामक निकाय बीमा समितिले क्रस होल्डिङ देखिएका १४ वटा बीमा कम्पनीहरुलाई उक्त क्रस होल्डिङ हटाउन निर्देशन दिएको छ ।

यही असोज ४ गते बीमा समितिले नेपाल लाईफ, एलआईसी नेपाल, शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ लगायतका कम्पनीसहित १४ बीमा कम्पनीहरुलाई क्रस होल्डिङ गर्न नपाइने व्यवस्था बीमकको संस्थापक शेयरधनी सम्बन्धी निर्देशिकामा उल्लेख भएको भन्दै ति संस्थामा भएका क्रस होल्डिङ हटाउने कार्ययोजना ७ दिनभित्र पेश गर्न बीमा समितिले निर्देशन दिएको हो ।

बीमा समितिले असोज ४ गते सात दिन भित्र बीमा कम्पनीहरुलाई क्रस होल्डिङको जवाफ पेश गर्न आग्रह गरेको थियो । जसमध्ये तीन बीमा कम्पनीमा गरेको जवाफ बीमा समितिमा पेश गरिसकेको छन् । बाँकी ११ वटा कम्पनीले समेत छिट्टै कार्ययोजना पेश गर्ने बीमा समितिले जनाएको छ । सबै कम्पनीहरुको कार्ययोजनासहितको प्रतिबद्धता आएपछि बीमा समितिले सो अनुसार काम भए नभएको अनुगमन गर्ने जनाएको छ ।

बीमा कम्पनीहरुमा क्रस होल्डिङ हटाउन लागेको बीमा समितिले व्यवसायिक घराना विशाल गुप्रलाई बीमा कम्पनीमा भएका लगानी हटाउन निर्देशन दिएको छ ।

समितिले बिशाल ग्रुपले नियम विपरित तीन जीवन बीमा कम्पनीमा लगानी गरेको भेटिएसँगै लगानी हटाउन निर्देशन भएको हो । बीमा कम्पनीमा क्रस होल्डिङ हटाउने क्रममा बीमा समितिले यस्तो निर्देशन दिएको हो ।

बीमा समितिले केही पहिले एक अध्ययन गरेको थियो । सो क्रममा व्यापक मात्रामा क्रस होल्डिङ फेला परेपछि एक्सनमा अघि बढेको छ । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले क्रस होल्डिङ हटाउन दृढतापूर्वक लागि परेकोले विगतमा जस्तो कम्पनीहरु राजनीतिक पहुँचका आधारमा क्रस होल्डिङ लगानी टिकाईराख्ने सम्भावना नरहेको जनाइएको छ ।

बीमाम समितिको अध्ययनमा व्यवसायिक घराना विशाल ग्रुपले नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन र सूर्या लाइफमा सबैभन्दा बढी लगानी गरेको भेटिएको थियो ।

समितिको अध्ययन बमोजिम बिशाल ग्रुपले एलआईसी नेपालमा २५ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्समा १४ प्रतिशत तथा सूर्या लाइफ इन्स्योरेन्समा ३० प्रतिशत लगानी गरेको भेटिएको छ ।

बीमा समितिले बनाएको बीमकको संस्थापक शेयर सम्बन्धी निर्देशिकाक २०७७ ले बीमा कम्पनीमा कुनैपनि एक व्यक्ति, घर परिवार तथा व्यवसायिक घरानाले एउटा बीमा कम्पनीमा न्यूनतम १५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । सो व्यक्ति, घर परिवार तथा व्यवसायिक घरानाले एउटा कम्पनीमा १५ प्रतिशत लगानी गरेपछि अर्को उस्तै कम्पनीमा १ प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था छ । विशाल ग्रुपले १५ प्रतिशतभन्दा कम लगानी गरेको नेपाल लाइफ इन्स्योरेन्समा मात्रै हो भने अन्य कम्पनीमा ठूलो मात्रामा लगानी गरेको छ ।

बीमा समितिले तीनवटै बीमा कम्पनीलाई पत्र लेखेर विशाल ग्रुपको लगानी तोकिएको नियम अनुसारको सिमाभित्र झार्ने कार्ययोजनासहित ७ दिनभित्रमा समितिमा जवाफ पठाउन पत्र काटेको थियो ।

बीमा समितिको अध्ययनमा जीवन बीमा कम्पनीमा एउटै समूहको सबैभन्दा ठूलो क्रस होल्डिङ भेटिएको विशाल ग्रुपको हो ।
एलआईसी नेपालको संचालकमा विशा ग्रुपका प्रवन्ध निर्देशक अशोक अग्रवाल संचालक छन् । यस्तै नेपाल लाइफको संचालकमा विशाल ग्रुपका सञ्चालक विवेक अग्रवाल रहेका छन् ।

त्यस्तैगरी बीमा समितिको अध्ययन अनुसार सबैभन्दा धेरै क्रस होल्डिङ गर्ने व्यापारिक घाराना आईएमई ग्रुप हो । सो कम्पनीको जीवन बीमा कम्पनीमा आइएमई लाइफ र रिलायवल लाइफ इन्स्योरेन्समा क्रस होल्डिङ भेटिएको छ । आइएमई गुप्रको आइएमई जनरल नेपाल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा क्रस होल्डिङ छ ।

अर्का व्यवसायी शशिकान्त अग्रवालको शिखर इन्स्योरन्समा १६ प्रतिशत र युनाइटेडमा ३ प्रतिशत क्रश होल्डिङ भेटिएको छ । शशिकान्त अग्रवालले हिमालयन रिमा समेत लगानी गरेका छन् ।

बीमा समितिले क्रस होल्डिङ अन्त्य गर्न कडा निर्देशन जारी गरेपछि बीमा क्षेत्रमा तरंग पैदा भएको छ । बीमा समितिका विरुद्धमा केही व्यवसायीहरु राजनीतिक लबिङ समेत सुरु गरेको जानकारी प्राप्त भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*