अर्थमन्त्री शर्मा तातेपछि कोरोना बीमितले भुक्तानी पाउने, बीमा समितिलाई नौ अर्ब रुपैयाँको कोष व्यवस्थापनको खाका तयार पार्न निर्देशन

१४ आश्विन २०७८, बिहीबार ०९:०५

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दावी भुक्तानी छिटो गराउने व्यवस्था मिलाउन आफै अग्रसर भएका छन् । बीमा कम्पनी र बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीको लागि सरकारलाई देखाएर पन्छिन खोजेपछि अर्थमन्त्री आफैले अग्रसरता लिएका हुन् ।

हिजो बीमा समितिका अध्यक्ष सूर्य सिलवालसहितको टोलीलाई बोलाएर अर्थमन्त्री शर्माले छलफल गरेका थिए । छलफलमा अर्थमन्त्री शर्माले कोरोना बीमाको दावी भुक्तानी रोकिएकोबारेमा चासो राख्दै समस्या समाधानको लागि दावी भुक्तानीको लागि आवश्यक पर्ने नौ अर्ब रुपैयाँ भन्दा बढि रकम व्यवस्थापन गर्ने सम्बन्धमा मोडालिटी बनाउन निर्देशन दिएका छन् ।

निर्जिवन बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी तथा बीमा समितिको समेत योगदान रहने गरी कोरोना बीमाको बक्यौता दावी भुक्तानीको लागि कोष व्यवस्थापन सम्बन्धी मोडालिटी तयार गर्न निर्देशन दिइएको हो । अर्थमन्त्री शर्माले सरकारले समेत आवश्यक परेको खण्डमा केही योगदान गर्नसक्ने सन्देशसहित कोरोना बीमाको दावी भुक्तानीको लागि मोडालिटी तयार पार्न भनिएको हो ।

अर्थमन्त्रीको अग्रसरतासँगै कोरोना बीमाको दावी भुक्तानी पाउन बाँकी करिब नौ अर्ब रुपैयाँको कोषको व्यवस्थापन भएमा आगामी माघ सम्ममा कोरोना बीमाको दावी भुक्तानी हुनसक्ने देखिएको छ । हालसम्म शून्य अवस्थामा रहेको कोरोना बीमाको लागि आवश्यक नौ अर्ब रुपैयाँ भन्दा बढि फण्ड व्यवस्थापनको लागि केही समय लाग्ने अर्थमन्त्रालय स्रोतले जनाएको छ । सुरुमा मोडालिटीका सम्बन्धमा छलफल भई तयार हुन्छ, उक्त तयार भएको मोडालिटी अनुसार कोष व्यवस्थापन भई भुक्तानी हुन केही समय लाग्नेछ ।

कोरोना बीमा गराई दावी भुक्तानीका लामबद्धहरुले अब केही महिनाको धैर्यतापछि कोरोना बीमाको दावी भुक्तानी पाउने भएका छन् ।

करिब ९० हजार बीमितले कोरोना बीमाको दावी भुक्तानी गर्न नौ अर्ब रुपैयाँ भन्दा बढि रकम पाउन बाँकी छ । बीमा समितिले सञ्चालन गरेको कोरोना बीमा बापत ३५ हजार भन्दा बढिले साढे तीन अर्ब रुपैयाँ भुक्तानी पाइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*