जनरल इन्स्योरेन्समा हुँदा दर्जन अभियोग लागेका तत्कालिन सञ्चालक दीपेन्द्र अग्रवाललाई कारवाही नगरी उन्मुक्ति

१३ आश्विन २०७८, बुधबार ११:०१

काठमाडौं । सर्वसाधारणको समेत शेयर लगानी रहेको र राज्य नियन्त्रित सार्वजनिक कम्पनीमा सञ्चालकको रुपमा काम गर्दा एक दर्जन अपराधमा संलग्न लगानीकर्ता दीपेन्द्र अग्रवाललाई कुनै पनि कारावही बिना नै उन्मुक्ति दिइएको पाइएको छ ।

बीमा समितिले राजनीतिक पहुँचका आधारमा शेयर कारोबार लगायतका अन्य व्यवसायमा संलग्न दीपेन्द्र अग्रवाललाई जनरल इन्स्योरेन्स कम्पनीमा करोडौं रुपैयाँ घोटाला काण्डमा कुनै पनि कारवाही नगरी उन्मुक्ति दिएको खुलेको छ । बीमापोष्टलाई प्राप्त कागजातमा जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अग्रवालले सो कम्पनीको नाममा टिएमएसको युजरनेम र पासवर्ड आफैले लिई आफू संलग्न कम्पनीको शेयर खरिद बिक्री गरी बजारलाई प्रभावित गर्ने पुँजि बजार सम्बन्धी अनैतिक र गम्भिर अपराध गरेका थिए ।

बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीमा २०७७ चैत्र २२ र २३ गते दुई दिन स्थलगत अनुगमन गरेको थियो । सो क्रममा टेक्निकल रिजर्भको १२५ प्रतिशतसम्म शेयरमा लगानी गरेको, कम्पनीको कर्मचारीले चलाउनुपर्ने टिएमएस सिष्टम आफैले चलाएको लगायतका १२ वटा कैफियत फेला पारेको थियो । सोही कैफियतका आधारमा २०७८ बैशाख ३ गते बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अग्रवाललाई निलम्वन गरेको थियो ।

स्रोतका अनुसार निलम्वित अवस्थामा समेत अग्रवालले कम्पनीमा आएर शेयर खरिद बिक्री गरेका थिए । समितिले १२ वटा गम्भिर अपराधमा निलम्वन गरेकोमा गत असार ८ गते कुनै पनि कारण वा छानविन बिना नै अग्रवाललाई गरेको निलम्वन फुकुवा गरेको थियो । बीमा समितिले अग्रवालले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्वन गरिएको जनाएकोमा त्यसको तीन महिनापछि कुनै छानविन वा स्पष्टिकरण बिना नै निलम्वन फुकुवा गरेर वित्तीय क्षेत्रमा बढिरहेको अपराधलाई उन्मुक्ति दिएको पाइएको छ ।

राजनीतिक पहुँचका आधारमा जनरल इन्स्योरेन्स कम्पनीका तत्कालिन सञ्चालक अग्रवाललाई कारवाही नगरी निलम्वन फुकुवा गरिएको हो । स्रोतका अनुसार बीमा समितिले निज अग्रवालसँग सहमति गरी निलम्वन फुकुवा गरेको हो ।

अग्रवालले निलम्वनबाट फुकुवा भए लगत्तै पदबाट राजिनामा दिई हाल आफ्नो स्थानमा श्रीमतीलाई सञ्चालक बनाएर कम्पनीमा कब्जा जमाइरहेका छन् । सो कम्पनीमा अग्रवाल मुख्य शेयर लगानीकर्ता मध्येका एक हुन् । उनले जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट आफ्नै लगानी रहेको अन्य कम्पनीहरुको शेयर मूल्य बढाएर किन्ने गरेको बीमा समितिले गरेको अध्ययनबाट पत्ता लागेको थियो । इन्साइडर ट्रेडिङ, अनाधिकृत रुपमा कम्पनीको सिष्टम प्रयोग गरेको, वित्तीय अनुशासन कायम राख्न नसकेको जस्ता एक दर्जन आरोप उनीमाथि लागेकोमा कहिले कारवाही होला ? प्रश्न चिन्ह उठेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*