शेयर बजारको कृतिम कारोबार रोकिएकै हो ? अर्बौ कारोबार गर्ने ब्रोकर कम्पनी किन सुके ?

१२ आश्विन २०७८, मंगलवार २३:३०

काठमाडौं । नेपालको शेयर बजार आज भन्दा तीन महिना पहिले दैनिक १५ अर्बभन्दा माथि कारोबार हुन्थ्यो । शेयर खरिद बिक्रीका कारण मालामा हुने ब्रोकर कम्पनीहरु अहिले निकै सुस्ताएका छन् । मूल्य परिसूचक निकै तल झरिसकेको छ भने कारोबार समेत दैनिक पाँच अर्ब हाराहारीमा रोकिएको छ ।

यसअघि एकै दिनमा दुई अर्ब ५७ करोड रुपैयाँसम्म करोबार भएको नासा सेक्युरिटिजबाट मंगलबार सर्वाधिक ७२ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसले शेयर बजारमा कृत्तिम कारोबार घटेको अनुमान गरिएको छ । यद्यपि शेयर बजारको मूल्य घटेका कारण कारोबार घटेको हो वा कृत्तिम कारोबार रोकिएको हो अध्ययन नगरी अहिले नै निष्कर्ष निकाल्न नसकिने शेयर बजारका जानकारको भनाई छ ।

त्यस्तै दैनिक एक अर्ब रुपैयाँभन्दा बढिको कारोबार गर्दै आएकोमा मंगलबार इम्पेरियल सेक्युरिटिजबाट ५९ करोड, भिजन सेक्युरिटजबाट ४३ करोड, आर्यतारा सेक्युरिटिजबाट ४१ करोड, सनि सेक्युरिटिजबाट ४० करोड, दक्षिणकाली इन्भेष्टमेन्टबाट ३६ करोड रुपैयाँको खरिद बिक्री भएको छ ।

दैनिक अर्बमाथि कारोबार गर्ने त्रिशक्ती सेक्युरिटिजले मंगलबार ३५ करोड, प्रिमियर सेक्युरिटिजले ३२ करोड, दीपशिखाले ३१ करोड र अग्रवाल सेक्युरिटिजले ३० करोड रुपैयाँको सेयर कारोबार गरेको छ । समग्रमा सबै कम्पनीहरुको कारोबार घटेपनि अत्याधिक कारोबार हुने केही कम्पनीहरुको शेयर कारोबार ह्वात्तै घट्नुले शेयर बजारभित्र विकृत्ति भित्राउनेहरुले आफू जोगिने ठाउँ खोजेको अनुमान गरिएको छ ।

अनुसन्धान नभएको तर बीमापोष्टलाई शेयर बजार सम्बद्ध ज्ञाताहरुले जनकारी गराएको विवरण अनुसार ब्रोकर कम्पनीहरुले लगानीकर्ताको खातामा रकम नपठाई नेटिङ विधिमार्फत अर्बौ रुपैयाँको शेयर कारोबार गरी ब्रोकर कम्पनीलाई बैंक तथा वित्तीय संस्था सरह कारोबारब गर्न थालेपछि शेयर बजार इक्जेट भएर बेलुन जसरी फूल्न पुगेको थियो ।

ठूला शेयर माफिया र ब्रोकर कम्पनी मिलेर गरिएको यस पटकको घोटालमा संलग्नहरुको छानविन नभई कारोबार समेत ह्वात्तै घट्ने पुगेको छ । कुनै समय सेयर बजारमा दैनिक २२ अर्ब रुपैयाँसम्मको सेयर किनबेच हुने गरेकोमा अहिले एक चौथाईमा सीमित हुनेले शेयर बजारमा माफियाहरुको चलखेल केही मत्थर भएको देखिएको छ । ब्रोकर कम्पनीलाई मात्रै फाइदा हुने गरी शेयर कर्नरिङ गर्ने उद्देश्यले ठूलो भोल्युममा शेयर कारोबार हुँदै आएकोमा पछिल्लो समय नेपाली शेयर बजारको सम्बन्धमा अन्तर्राष्ट्रिय मुद्रा कोष लगातयले समेत चासो राखेको थियो । सो सम्बन्धमा नेपाल धितोपत्र बोर्डले समेत चासो राखेपछि लगानीकर्ताहरु आफै आन्दोलन छोडेर वार्ताको नाटक रच्न पुगेका थिए ।

एउटै ब्रोकर कम्पनीबाट दैनिक दुई रुपैयाँसम्म कारोबार हुने तथा सो कारोबार मध्ये अधिकांश नेटिङ (भर्चुल) विधिबाट मात्रै हुने गरेको थियो । यस्तो कारोबारमा रकम भुक्तानी गर्नु पर्दैन । हिसाब किताब मात्रै गरिन्छ । सबै हिसाब किताब ब्रोकर कम्पनीले गर्ने गर्दछ । आपसी सल्लाहमा हिसाब किताब मिलान मात्रै हुने नेटिङ विधिमार्फत ठूलो रकम शेयर मूल्य बढाएपछि माफियाहरुले बढेको मूल्य अनुसारको शेयर बिक्री गरी रकम बैंकमार्फत निकाल्न थालेपछि बैंकहरुमा तरलता हिट गरेको छ भने शेयर बजार खस्किँदै जान थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*