बीमा समितिको गलत नीतिका कारण जीवन बीमा व्यवसाय धरासायी, अधिकांश कम्पनीको बीमा शुल्क आम्दानी खस्कियो (तथ्याङ्क सहित)

११ आश्विन २०७८, सोमबार २०:५५

काठमाडौं । बीमा समितिको हचुवा निर्णयका कारण नेपालको सिंगो जीवन बीमा व्यवसाय खस्किन पुगेको छ । बीमा समितिले जीवन बीमा व्यवसायको श्रीबृद्धिमा दिनरात नभनी खटिने बीमा अभिकर्तालाई कसिकसाउ गरेका कारण जीवन बीमा व्यवसाय प्रभावित भएको तथ्याङ्कमा देखिएको छ ।

बीमा समितिमा अध्यक्ष बनेर आएपछि सूर्य सिलवालले गरेका लगभग सबै निर्णयहरु विवादमा पर्दै आएका छन् । अध्यक्ष सिलवालले गरेको विवादित निर्णयकै प्रभाव जीवन बीमा व्यवसायमा परेको छ । सरकारले चालु आवमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने लक्ष्य लिएको बेला बीमा समितिले गरेको अदुरदर्शी र दीर्घकालिन प्रभाव पार्ने निर्णयको असर जीवन बीमा क्षेत्रमा देखिएको हो ।

गत जेठबाट बीमा अभिकर्ताहरुले करार गरी दुई देखि १० वर्षसम्मलाई लिएका ऋण तत्काल असुल उपर गर्न बीमा समितिले निर्देशन दिएको थियो । सो निर्णयबाट प्रभावित भएका जीवन बीमा कम्पनीहरुले सबै बीमा अभिकर्ताहरुको खाता रोक्का गरे, जसले बीमा अभिकर्ताहरुमा निराशा सिर्जना गरेको पाइएको छ । बीमा समितिले नै उलब्ध गराएको तथ्याङ्कमा साउन महिनाको तुलनामा भदौं महिनामा जीवन बीमा शुल्क उच्च अंकले घटेको हो । एक अभिकर्ताले बीमापोष्टसँग भने, यसमा धेरै कारण हुनसक्दछ, तर एउटा महत्वपूर्ण कारण बीमा अभिकर्ताको चीर हरण नै हो, जुन बीमा समितिले गर्यो ।’

तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय दुई महिनाको अवधिमा घटेको छ । साउन महिनाको तुलनामा कम्पनीहरुको बीमाशुल्क आर्जन ४३ दशमलव ७ प्रतिशतले घटेको बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक बर्षको अन्त्यसँगै उत्साह छाएको जीवन बीमा कम्पनीहरुको व्यवासय दोस्रो महिनामा ४३ प्रतिशतले घटेपछि यसले सिंगो जीवन बीमा व्यवसाय तरंगित हुन पुगेको छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थानको घटेको छ । संस्थानको तथ्याङ्क घट्ने प्रक्रिया नियमित नै हो । किनभने संस्थानले वर्षदिनमा साउन महिनामा मात्रै तीन अर्बभन्दा बढि बीमा शुल्क संकलन गरेपछि अन्य महिनामा खासै व्यवसाय गरेको पाइदैन ।

अन्य नाम चलेका कम्पनीहरुको समेत व्यवसाय खस्किएको छ । सबैभन्दा ठूलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकै पनि व्यवसाय घटेको छ । अभिकर्ता आन्दोलित हुँदा नेपाल लाइफको व्यवसाय प्रभावित भएको हो । साउन महिनाको तुलनामा भदौं महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आम्दानी ६७ प्रतिशतले घटेको छ । उता, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय २० प्रतिशतले घटेको छ । उच्च अंकले घट्नेहरुमा गुराँस लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, सूर्या लाइफको बीमा शुल्क आम्दानी उच्च अंकले घटेको छ ।

नेपालकै दोस्रो ठूलो कम्पनी एलआईसी नेपालको बीमा व्यवसायले भने छलाङ मारेको छ । त्यस्तै भदौं महिनामा बीमा शुल्क आम्दानी बृद्धि गर्न सफल हुने अन्य कम्पनीहरुमा सानिमा लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ लगायतका कम्पनीहरु रहेका छन् ।

रकम रु अर्बमा । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कमा आधारित

One thought on “बीमा समितिको गलत नीतिका कारण जीवन बीमा व्यवसाय धरासायी, अधिकांश कम्पनीको बीमा शुल्क आम्दानी खस्कियो (तथ्याङ्क सहित)

  1. अनिल कुमार चौधरी says:

    म नेपाल लाइफ ई. क . लि. मा कार्यरत अभिकर्ता ( ए . मेनेजर ) हुं। मैले बाइक किन्न कम्पनीबाट रु एक लाख पचास हजार रुपैयाँ मात्र ५ वर्षको लागि दायाँ बायाँ औंठा छाप लगाई सही गराई ऋण लिए ‘ । तर कम्पनीले असार महिनाभित्र नै सम्पूर्ण ऋण फर फराक गर्नुपर्ने बाध्यकारी निर्णय पेश गरियो । सोही निर्णेय अनुरूप मजस्ता हजारौं अभिकर्ता साथी हरुको खाता रोकी ऋण असुल गरिरहेको छ र कतिपय साथीको असुल पनि गरियो । बुझ्नुपर्ने कुरो के हो भने नेपाल लाइफले बनाएको नियम पांच वर्षमा ऋण चुक्ता गर्नुपर्ने तर हचुवा निर्णयमा मेरो ६ महिनामै सबै ऋण असुल गरेको छ । मजस्ता सयौं अभिकर्ता मारमा छौं ‘ अब भन्नुस कम्पनीले बनाएको नियम आफैं मिचने प्रवृतिले फ्याकेको थुक आफै चाटने काम भएन र ? बिमा कम्पनी र बिमा समिति लाई विपक्षी बनाई अभिकर्ता संघले मुद्दा हाल्न ढीला गर्नुहुन्न मेरो बिचारमा ‘ धन्यवाद ‘ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*