एशियन लाइफद्वारा कीर्ते बीमा पोलिसी जारी, अनैतिक कार्यमा संलग्नको बचाउ गर्दै सिईओ श्रेष्ठ

७ आश्विन २०७८, बिहीबार २३:५०

काठमाडौं । संस्थागत सुशासन बिग्रेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कीर्ते बीमा पोलिसी जारी गर्ने गरेको खुलेको छ । सो कम्पनीको बारा शाखाले एउटा व्यक्तिको बीमा पोलिसीमा अर्कै व्यक्तिको फोटो राखेर कीर्ते बीमा पोलिसी जारी गरेको खुलेको हो । बीमितको सुरक्षाको लागि नाम गोप्य राखिएको ति व्यक्तिको अहिले पुनः सक्कली फोटो राख्ने प्रयास भइरहेको बुझिएको छ ।

एक करोड रुपैयाँको बीमा पोलिसी जारी गरेको कम्पनीले कीर्ते फोटो राख्ने बारा शाखा प्रमुख सोनालाल सहनीलाई कारवाही गर्न लिखित उजुरी परेपनि हालसम्म कारवाही गरेको छैन । स्रोतका अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ दिनेशलाल श्रेष्ठले कीर्ते बीमा पोलिसी जारी गर्ने बारा शाखा प्रमुख सहनीलाई कारवाही गर्न दिएका छैनन् । संस्थागत सुशासन बिग्रेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुमा सिईओ श्रेष्ठकै कारण निराशा बढिरहेको गुनासो गर्न थालेका छन् ।

एशिन लाइफ इन्स्योरेन्स कम्पनीभित्र संस्थागत सुशासन भताभुंग हुँदा पछिल्लो समय बीमा पोलिसी जारी गर्दा समेत व्यापक अनियमितता मात्रै होइन, बीमा कम्पनीका शाखा प्रमुख तथा केन्द्रीय कार्यालय कर्मचारीहरुले समेत कमिशनको लागि र्याल चुहाउने गरेको खुलेको छ ।

एशिलन लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ताले दुःख गरेर ठूलो पोलिसी ल्याएमा बीमा कम्पनीका शाखा प्रमुखले तत्कालै केन्द्रको सहयोगमा नयाँ बीमा अभिकर्ता खडा गरी अर्कै मानिसलाई बीमा अभिकर्ता देखाएर बीमा पोलिसी जारी गर्ने धन्दा मौलाउन पुगेको सो कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुको गुनासो रहेको छ ।

कीर्ते बीमा पोलिसी जारी गरिएको तथा अनैतिक कार्य गर्नेलाई कारवाही नगरी संरक्षण गरेको सम्बन्धमा जानकारी लिन खोज्दा सिईओ श्रेष्ठले कुनै जवाफ दिन चाहेनन् । बीमापोष्टले पटक पटक टेलिफोन तथा कार्यालयमै पुगेर समेत सो सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा जवाफ दिन नसक्ने मौखिक जानकारी पठाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*